केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गरिने «

केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गरिने

गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन् ।
गृहमन्त्री खाँणले शुक्रबार पीडित विद्यार्थी र विद्यार्थी संगठनका नेताहरूसँग छलफल गरी ती मेडिकल कलेजहरूमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । गृहमन्त्री खाँणले विद्यार्थी संगठनका नेताहरूलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराए । उनले संविधान र कानुनको परिधिभित्र रहेर सो कलेजमा भएको घटनाको अनुसन्धान हुने र कारबाही गर्ने बताए । विद्यार्थीहरूले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन् ।
गृहमन्त्री खाँणले भने, ‘मेडिकल कलेजमा देखिएको जुन समस्याहरू छन, ती समस्याहरूलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत रूपमा सरकारले अनुसन्धान गर्छ । र दोषीलाई चाहिँ हाम्रो ऐन, कानुनमा जस्तो प्रबन्छ छ । त्यहीअनुसार कारबाही हुन्छ । यस विषयमा विद्यार्थीहरूलाई धेरै कठिन छ । र, सरकारले निर्णय गर्दा आफ्नो प्रक्रिया थालनी गर्दा आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर गर्नु हुँदैन भन्नेमा स्पष्ट छ । पूर्वाग्रह, आग्रहभन्दा माथि उठेर काम हुन्छ । विद्यार्थी संगठनहरू पनि उत्तेजित हुने र आवेशमा आउने काम गर्नु भएन । आवश्यक प¥यो भने पुनः शिक्षा मन्त्रालयसँग छलफल गरेर समस्या समाधान गरिन्छ ।’
यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरूले दादागिरी देखाएको भन्दै उनीहरूमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँण समक्ष आग्रह गरे । उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्या तत्काल समाधान नभए निजी मेडिकल कलेजमा विद्यार्थीहरूले पढ्न पाउने अवस्था गुम्ने चेतावनी पनि दिए । शिक्षामन्त्री पौडेलले भने, ‘कलेज सञ्चालकहरूको भाषा, शैली र तरिकाका कारण यस्तो स्थिति सिर्जना भयो । यसमा शुल्कको कुरा, छात्रावासको कुरा पनि चिकित्सा शिक्षा आयोगको ऐन विपरित मेडिकल संचालकहरूले गरिरहेका छन । उनीहरूले मेडिकल कलेज पढने विद्यार्थीहरूमाथि दादागिरी देखाइरहेका छन् । उनीहरूमाथि तत्काल कारबाही गर्नु हुन्छ । अन्यथा कुनै पनि विद्यार्थीहरूले मेडिकल कलेज पढन सक्ने अवस्था हुँदैन ।’
कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरूले विद्यार्थीहरूमाथि दमन गर्ने र ठगी गर्ने निजी मेडिकल कलेजहरूलाई तत्काल कारवाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले विद्यार्थीहरूलाई दमन र शोषण गर्ने निजी मेडिकल कलेजहरूमाथि तत्काल कारबाही गर्न सरकारलाई दबाब दिए ।
अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले गैरकानुनी ढंगले विद्यार्थीहरूमाथि चर्को शुल्क असुल गरी आतंक फैल्याउने निजी मेडिकल कलेजमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराउनु भयो । उहाँले निजी मेडिकल कलेजहरूको विद्यार्थीमाथिको दमन आफूहरूलाई स्विकार्य नहुने चेतावनीसमेत दिए ।
अध्यक्ष सिंहले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा संविधानमा व्यवस्था भए पनि सोहीअनुसारको व्यवस्था सरकारले गर्न नसकेको भन्दै आपत्तिसमेत जनाए ।

प्रतिक्रिया दिनुहोस्