Logo

जडान हुँदाहुँदै भाँच्चियो बेलिब्रिज

मुगुको कर्णाली नदीमा बेलिब्रिज जडान गर्दागर्दै निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज भाँच्चिएको छ ।
हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने छायाँनाथ रारा नगरपालिका–१, २, ३ र १३ वडा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रबार राति मेसिनले धान्न नसक्दा बेलिब्रिज भाँच्चिएको हो ।
बेलिब्रिज निर्माणका लागि जलब रवीचक्र जेबी निर्माण कम्पनीले नगरपालिकासँंग सम्झौता गरी निर्माण गरेको थियो । तोकिएकै मितिमा सम्पन्न गर्ने अवस्थामा थियौं तर जडान गर्ने क्रममा बेलिब्रिज भाँच्चिँदा जडानमा अझै समय लाग्ने कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताए । उनका अनुसार भाँच्चिएको बेलिब्रिज जडान गर्न १२ दिनसम्म लाग्ने मल्लले बताए । बेलिब्रिज भाँच्चिदा मानवीय क्षति भने भएको छैन । पुलको बीच भाग बाङ्गिएर काम नलाग्ने भएको छ । सो स्थानमा अरु नयाँ संरचना जडान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । भाँच्चिएको पुल पुरै निकालेर नयाँ संरचना जडान गर्नुपर्ने ठेकेदार मल्लको भनाइ छ ।
पुल नगरपालिकाको पाँच करोड, २० लाख, ५५ हजार ९ सय २ रुपैयाँको लागतमा बन्ने यो बेलिब्रिजको लम्बाइ ५५ मिटर रहेको छ ।
छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले गत वर्ष चैत ५ गते सो पुलको शिलान्यास गरेका थिए । पुस मसान्तसम्म निर्माणकार्य सम्पन्न हुने बेलिब्रिज जडानका बेला भाँच्चिँदा निर्माणकार्य अझै लम्बिने जनाइएको छ ।
ग्रामीण पहुँच कार्यक्रम (¥याप–३) ले मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिका देउलीसम्म जनताको सहभागीतामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो । मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण भएपछि हुम्ला जिल्लाका चंखेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकासम्मका जनतालाई यातायातमा सहज हुने थियो ।

प्रतिक्रिया दिनुहोस्