प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १६४ युवाले पाए रोजगार «

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १६४ युवाले पाए रोजगार

तेह्रथुम-जिल्लाको आठराई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । सो कार्यक्रमबाट गाउँपालिकाका १ सय ६४ युवा रोजगार बनेका छन् ।
आर्थिक रुपमा विपन्न पछाडि परेका समुदायका श्रमिकलाई वडामार्फत छनोट गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले बताए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गाउँपालिकामा रोजगार कार्यक्रम संचालनका लागि ९४ लाख ४३ हजार रुपैयाँ श्रमिकको ज्यालका लागि उपलब्ध गराएको बताइएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सञ्चालन हुने योजनामा ४० लाख रुपैयाँ साझेदारी गरेको गाउँपालिकाका रोजगार संयोजक कृष्णप्रसाद चम्लागाईंले जानकारी दिए । रोजगार कार्यक्रमअन्तर्गत सडक सोलिङ तथा नालिनिर्माण, सिँचाइ कुलो निर्माण, सिँडि निर्माण र पर्यटन पूर्वाधारका क्षेत्रमा काम गर्ने संयोजक चम्लागाईंले बताए । कार्यक्रमबाट श्रमिकले दैनिक ५ सय ७७ रूपैयाँ पाउने भएका छन् ।
उनी भन्छन्, “कम्तीमा पाँच सय जनालाई पालिकाले रोजगार दिनसके वैदेशिक रोजगारका लागि भौंतारिरहेका युवालाई सहयोग पुग्ने थियो । आफ्नै गाउँमा रोजगारीको सिर्जना गर्दै पालिकाबाट सञ्चालन हुने पाँच लाखभन्दा मुनिका योजनामा युवालाई रोजगार दिने हो भने पछाडी परेका वर्ग समुदायलाई समेत आर्थिक समस्या टार्न राहत मिल्ने थियो ।”
कार्यक्रम आठराई गाउँपालिका–१, संक्रान्ति बजारबाट सुरु भएको छ । स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार नै कार्यक्रम सञ्चालन गरिने भएको छ । एउटा योजनामा बढीमा १३ जनामात्र श्रमिकलाई काममा लगाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्