Logo

छिञ्चुमा बसपार्क बनाउन १३ करोड ऋण सम्झौता

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिञ्चुमा बसपार्क निर्माणका लागि नगर विकास कोषले ऋण दिने भएको छ ।
छिञ्चु बसपार्क आयोजनाका नगर विकास कोष र नगरपालिकाबीच ऋण सम्झौता भएको हो । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्रबहादुर चन्दबीच १३ करोड ७४ हजारको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । छिन्चु वसपार्क आयोजना निर्माणको कुल अनुमानित लागत १८ करोड ५८ लाख २० हजार रहेकोमा ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट बेहोरिनेछ । कर्णाली प्रदेश भित्रिने मुख्य नाका छिञ्चुमा बसपार्क निर्माण आयोजनालाई महत्वका साथ लिइएको छ । आयोजनाअन्तर्गत करिब ३३ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गरिनेछ । आयोजना निर्माणपछि हाल बजारमा अव्यवस्थित रूपमा पार्किङ गर्नुपर्ने बाध्यता हट्नेछ ।
सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुखले यस आयोजनालाई कर्णाली प्रदेशकै नमुना आयोजनाको रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । आयोजना गुणस्तरीयरूपमा समयमा सम्पन्न गर्न निरन्तर लाग्ने उनीहरूले बताएका छन् । आयोजनामा आर्थिक साथै प्राविधिक रूपमा पनि सहयोग गर्न नगर विकास कोषसमक्ष प्रमुख उपप्रमुखले आग्रह गरे । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बसपार्कले पूर्वाधारको मात्र विकास नभई आर्थिक विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरे । नगर विकास कोषले बढीभन्दा बढी नगरपालिकालाई सहरी पूर्वाधार विकासमा वित्तीय तथा प्रविधिक सहायता प्रदान गर्ने लक्ष्य अनुरुप भेरीगंगा नगरपालिकालाई सहयोग गरेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्