विपद् प्रतिकार्यका लागि एक सय उद्धारकर्ता तयार

जुम्ला-कुनै पनि बेला हुनसक्ने प्राकृतिक तथा मानवीय विपद्जन्य घटनाको प्रतिकार्यका लागि जुम्लामा झण्डै एक सय जना सामुदायिक उद्धारकर्ता तयार गरिएको छ । बाढी पहिरो, भूकम्प, आगलागी, हिमपहिरो, डुबानजस्ता विपद्जन्य घटनाबाट प्रभावित नागरिकको राहत, उद्धार तथा प्राथमिक उपचारका लागि तालिम प्राप्त एक सय सामुदायिक उद्धारकर्ता तयार गरिएको हो ।
जुम्लाका तातोपानी र तिला गाउँपालिकाका महिला पुरुषलाई चार चरणमा २४ जनाका दरले ९६ जनालाई छुट्टाछुट्टै चार दिने विपद् प्रतिकार्यका लागि सामुदायिक पहल ( क्याड्रे ) को बेसिक कोर्स तालिम दिइएको छ ।
तालिमबाट गाउँमा हुनसक्ने विपद्का घटनाको प्रतिकार्यका लागि प्राविधिक तथा सैद्धान्तिक ज्ञान प्राप्त गरी स्थानीय युवालाई सामुदायिक उद्धारकर्ताका रूपमा तयार पारिएको हो । जलवायु परिवर्तका कारण पछिल्लो समय प्राकृतिक प्रकोप बढ्दै गएको छ । राजनीतिक दंगा, भूकम्प, प्रविधिको विकासबाट हुने विपद्लगायतका विभिन्न विपद्ले समाजमा जनधनको क्षति बढ्दै गएको छ । विपदका घाइतेको समयमै उद्दार नहुँदा, विपद् आउनु पहिले सूचना नपाँउदा, विपद् प्रतिकार्यका लागि सैद्धान्तिक ज्ञान नहुँदा गाउँघरमा हुने विपद्ले ठूलो क्षति गर्ने गरेको छ । समयमै घाइतको उद्दार र जनधनको क्षति कम गर्न जुम्लामा मर्सिकोर, किर्डाको समन्वय, यूएसआईडीको सहयोगमा सामुदायिक उद्धारकर्ता तयार गर्ने तालिम सञ्चालन गरिएको थियो ।
तालिममा सहभागी झण्डै एक सय जनालाई घटिरहने प्रकोप, पारिवारिक सुरक्षा एवं प्रतिकार्यका लागि तयारी घटना र निर्देशन प्रणाली, आधारभूत जीवन सुरक्षाका लागि प्राथमिक उपचार र प्राथमिक उपचारका बारेमा सिकाइएको छ ।
त्यस्तै शव व्यवस्थापन, आगलागी नियन्त्रण, विपद्मा आधारभूत खोज, उद्धारका तरिका, पानीजन्य आपतकालमा गरिने उद्धार, परिस्थितिजन्य आपतकाल जीव जनवारबाट हुने विपद्को उद्धारलगायतका विभिन्न खाले विपद् र उद्धार विधिका बारेमा सिकाइएको छ ।
मुख्य प्रशिक्षक खगेन्द्रराज जोशीले विपद प्रतिकार्यका लागि सामुदायिक पहल (क्याड्रे) तालिमबाट तयार भएका सामुदायिक उद्धारकर्ताहरूले गाउँठाउँमा हुने विपदजन्य घटनाबाट घाइतेको राहत उद्धारदेखि घटनाको अभिलेख, स्थानीय स्रोत साधको अधिकतम प्रयोग गरी प्राथमिक उपचार गराउन सक्षम बनाएको विश्वास व्यक्त गरे ।
त्यस्तै चार दिने तालिममा सहभागी तातोपानी–३ का नरवीर सुनारले समुदायमा हुने विपद्का घटना व्यवस्थापन तथा उद्दारका लागि गाउँगाउँमा सामुदायिक उद्धारकर्ता आवश्यक रहेको बताए । ((क्याड्रे) बेसिक कोर्स तालिम जीवनोपयोगी भएको भन्दै विपद पर्दा व्यवहारमा कार्यान्वयन गरिने उनको प्रतिबद्धता छ ।
त्यस्तै तातोपानी ८ टोप्लाकी आशा शाहीले भेरीखोला क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेकाले तालिम प्राप्त उद्धारकर्ता आवश्यक भएकाले आफूले तालिम पाउँदा खुसी भएको बताइन् । आफूले सिकेको कुरा गाउँका युवालाई सिकाएर उद्धारकर्ताका रूपमा विकास गर्ने उनको भनाइ छ ।
पालिका र जिल्लास्तरको विपद् व्यवस्थापन समितिका सदस्यहरू विगतमा तालिम प्राप्त नहुँदा हचुवाका भरमा उद्धार गर्दा थप घाइते हुने अंगभंग हुने समस्या थियो । तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले भनिन्, “अब गाउँमा हुने विप न्यूनीकरणदेखि राहत उद्धारमा सामुदायिक उद्धारकर्ताको उपस्थिति बलियो बनाउनु पर्छ । तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सुरुवात आफैबाट गर्न पनि आवश्यक छ । उद्धारकर्तालाई क्रियाशील बनाउन पालिकाले पनि थप सहयोग गर्छ ।”