सडक कालोपत्रे नहुँदा निर्माण सामग्री बोक्ने सवारीले स्थानीयलाई सास्ती «

सडक कालोपत्रे नहुँदा निर्माण सामग्री बोक्ने सवारीले स्थानीयलाई सास्ती

धनगढी-खुटिया–धनगढी, सेहरी–धनगढी र पथरी–धनगढी सडक दिनभरि व्यस्त हुन्छन् । ती सडकमा खुटिया र शिवगंगा नदीबाट ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्याक्टर र ट्रिपरको लाइन बिहान ४ बजेदेखि रातिसम्म हुन्छ । असार, साउन र भदौमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न नपाइने सरकारी नियमका कारणमात्रै फुर्सदिला हुन्छन् । असोजदेखि जेठ मसान्तसम्म नदीबाट निर्माण सामग्री बोकिरहने यी सडक वर्षौंदेखि कच्ची छन् ।
नदीजन्य निर्माण सामग्री बोकेर निजी आवासदेखि ठूला ठूला सार्वजनिक आयोजना निर्माण गराउने सडक कच्ची हुँदा यी सडक छेउछाउका बासिन्दाले निकै सास्ती भोगिरहेका छन् । एकातिर दिनहुँ सयौं ट्याक्टर हिँंडेर सडकमा खाल्डाखुल्डी परेर हिँडडुल गर्न कठिन बनाएको हुन्छ भने ट्याक्टर र ट्रिपरले उडाएको धुलोले घर, खेत, बारी सबै धुलो माटोले छपक्क ढाकिदिन्छ ।
स्थानीय रामबहादुर रानाले धुलोले तरकारी उत्पादन गर्न र घर सफा राख्न नसकिएको बताउँछन् । उनले छिट्टै सडक कालोपत्रे भइदिए सडक छेउका बासिन्दालाई राहत पुग्ने बताउँछन् ।

सडक निर्माण गर्ने जिम्मेवारी कसको ?
खुटिया–धनगढी सडक धनगढी–दिपायल द्रुतमार्गमा परेको हुनाले चालू आर्थिक वर्षदेखि पिच गर्नका लागि संरचना निर्माण भइरहेको छ । पथरी–धनगढी सडक धनगढी–बेहडा बाबा कृषि सडकको चरणबद्ध रूपमा कालोपत्रे भइरहेको छ । तर सेहरी–धनगढी सडक कसले निर्माण गर्ने भन्ने टुंगो छैन ।
गोदावरी नगरपालिका–९ का वडाध्यक्ष लहनु चौधरीले गोदावरी नगरपालिका र वडा नम्बर ९ को क्षेत्राधिकारभित्र नपरेको हुनाले नगरपालिकाले कालोपत्रे गर्न नसक्ने बताउँछन् । उनले सो सडक धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सीमानामा समेत जोड्ने भएकाले प्रदेश वा संघ सरकारले निर्माण गर्नुपर्ने बताउँछन् ।
वडाध्यक्ष चौधरीका अनुसार २०७४ मा संघीय सरकारको सघन सहरी विकास कार्यक्रमले पानी पिच गरेको थियो । त्यसपछि सो सडकमा कुनै पनि योजना परेका छैनन् । उनले गोदावरी नगरपालिकाले सेहरी–बेला, धनचौरी–देवहरिया र धनचौरी–जाली सडकलाई प्रत्येक वर्ष प्रदेश र संघ सरकारलाई निर्माण गर्नका लागि सिफारिस गर्ने गरेको भए पनि योजनामा पर्न नसकेको बताए ।
धनगढी उपमहानगरपालिका–११ का वडाध्यक्ष गंगाराम रानाले धनगढी उपमहानगरपालिकाको क्षेत्रमा पर्नेसम्मको सडक वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले खाल्डाखुल्डी व्यवस्थापन गर्दै आएको बताए । उनले बेलादेखि सेहरीसम्मको सडक बढी जस्तो गोदावरी नगरपालिकाभित्र पर्ने र जंगल क्षेत्र रहेकाले गोदावरी नगरपालिकाले नै बनाउनुपर्ने बताए ।
सेहरी–धनगढी सडक निर्माण गर्नका लागि न स्थानीय सरकार, न त प्रदेश र संघ सरकारले निर्माण गर्न चासो देखाएका छन् । सोही सडकबाट सधैंभरि ढुंगा, गिट्टी, बालुवा बोक्न व्यवसायीले निर्माणका लागि पहल गरेका छैनन् । स्थानीय सिताराम चौधरीले सरकार र ट्याक्टर तथा ट्रिपर व्यवसायीले पहल गरेमा सजिलै सो सडक कालोपत्रे हुन सक्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्