तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सुरू गर्ने

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरू गर्ने भएको छ ।
इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौता अनुरुप आगामी ८ फागुनदेखि प्रत्येक आइतबार काठमाडौंबाट इलाम उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।
इलाममा हवाई उडानको यो सम्झौताका लागि पहल गरेका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फाी भाडा आठ हजार ७ सय रुपैयाँ तोकिएको छ । सम्झौता अनुसार ११÷११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।
नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको समेत उनले जानकारी दिए । “इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो । इलामलाई प्रकृति र संस्कृतिको संगम मान्ने गरिन्छ । त्यहाँ पर्यापर्यटन, कृषि–पर्यापर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ । हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ” शाहले भने ।
पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढी रहेपनि सडक यातायातबाट जाँदा बढी समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनले बताए । इलाममा, सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदी पर्यटकीय आर्कषणका केन्द्र हुन ।