बन्दाबन्दी होइन, स्वास्थ्य सावधानी बढाऔं «

बन्दाबन्दी होइन, स्वास्थ्य सावधानी बढाऔं

कोभिड–१९ महामारीको चपेटामा परेको विश्व अहिले फेरि नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रभावित भएको छ । नेपालमा एकै दिन कोरोना संक्रमित हुनेको संख्या १० हजार नाघेको र यसले महामारी तीव्र गतिमा फैलिएको संकेत गरेको छ । ओमिक्रोन भेरियन्ट यसअघिको कोरोना संक्रमणभन्दा अझ छिटो फैलिएको छ । तथापि यसको असर भने कम देखिएको छ । जनस्वास्थ्य विज्ञ र सरुवा रोग विशेषज्ञ डाक्टरहरूको भनाइलाई आधार मान्ने हो भने ओमिक्रोन संक्रमण पहिलेको भन्दा नरम तर छिटो फैलिने खालको छ । त्यसैले पनि अहिले अस्पतालहरूमा गम्भीर अवस्थाका बिरामीहरू खासै नआएको र संक्रमितहरूको संख्या भने धेरै बढेको पाइएको छ । देशभर चलेको खोप अभियानको कारणले पनि अहिले कोरोना संक्रमणको भयावह अवस्था नदेखिएको विज्ञहरूको भनाइ छ । तीव्र रूपमा फैलिएको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकामा स्मार्ट लकडाउन पनि गरिएको छ । पहिलो र दोस्रो लहरले थला परेको उद्योग–व्यवसाय तेस्रो लहरको कोरोना संक्रमण फैलिएको आधारमा फेरि पनि प्रभावित होला कि भन्ने चिन्ता उद्योगी–व्यवसायीलाई छ । विस्तारै लयमा फर्किंदै गरेको व्यापार–व्यवसाय फेरि पनि तेस्रो लहरको संक्रमणले असर पार्ला भन्ने भय व्यापारीहरूमा छ । यद्यपि स्मार्ट लकडाउन संक्रमण नियन्त्रणको अन्तिम विकल्प नभएको उनीहरूको भनाइ छ । तेस्रो लहरको ओमिक्रोन भेरियन्टको संक्रमणले पार्ने प्रभावको विषयमा वीरगन्जका उद्योगी–व्यवसायीसँग कारोबारकर्मी नीरज पिठाकोटेले गरेको कुराकानीको सार :

लकडाउन नै गर्नुपर्छ भन्ने छैन
गणेशप्रसाद लाठ
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेश

लकडाउन नै गर्नुपर्छ भन्ने पक्षमा म छैन । विश्वभर नै लकडाउन लगाएको अवस्था छैन । केही सार्वजनिक स्थानहरू, भीडभाड हुने ठाउँमा मात्रै रोक लगाइएको छ । सबैभन्दा खतरनाक त भारतको दिल्लीमा छ । त्यहाँ पनि लकडाउन गरिएको छैन । घरघरमा कोरोना संक्रमण पसिसकेको छ । चहलपहल रोक्न सकिँदैन । अस्पतालहरूमा पनि संक्रमितहरूको चाप र दबाब छैन । सामान्य रुघाखोकी लागेकाहरू घरमै उपचार गरेर निको हुने गरेका छन् । खुला सिमाना छ । भारतबाट आउनेलाई रोक्न सकिरहेको छैन । सबैको घरघरमा कोरोना पुगिसकेकाले नियन्त्रणका लागि मास्क अनिवार्य, भीडभाड कम गर्नेतर्फ लाग्नुपर्छ । अहिलेको कोरोनाले खासै फरक परेको छैन । बरु चिसोले प्रभाव परेको छ । चिसोमा ग्राहक कुरेर पसले बसिरहेका छन् । जाडोले ग्राहक जाँदैनन् । उद्योगहरूमा कार्यरत मजदुर कर्मचारीहरू धेरैलाई एकैपटक संक्रमण भयो भने समस्या हुने हो । अहिले भारतमा पनि विस्तारै फेरि संक्रमण दर कम हुँदै छ । १५–२० दिनपछि हाम्रोमा बढ्न सक्ने सम्भावना छ । आउने फेब्रुअरी महिनामा कोरोना विस्तारै हटेर जाने अनुमान पनि लगाइएको छ । आर्थिक गतिविधिलाई चलायमान गराउन अर्थात् कारोबार बढाउनका लागि स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रूपमा पालना गराएर खुला राख्नुको विकल्प छैन ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाऔं
गोपाल केडिया
केन्द्रीय कार्यकारिणी सदस्य
नेपाल उद्योग वाणिज्य महासंघ

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिले सरकारले बनाएको संरचनाअनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) रहेका छन् । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्लाको अवस्था हेरेर निर्णय गर्ने अधिकार दिइएको छ । यसले गर्दा अहिले तत्काल स्मार्ट लकडाउनजस्ता निषेधहरू गर्नुपर्ने अवस्था देखिँदैन । यद्यपि संक्रमण नियन्त्रण र रोकथामका लागि पूर्वसावधानी र सतर्कता त अपनाउनैपर्छ । अहिले संक्रमितहरू फेला परे पनि लकडाउन नै गर्नुपर्ने अवस्थाचाहिँ छ जस्तो लाग्दैन । सीमा खुला छ । भारतबाट आएकालाई सीमा नाकामा परीक्षणमा कडाइ गरेकै छ । आउनेहरूलाई परीक्षण गरेर मात्रै पठाउने गरेका छन् । सक्रिय संक्रमितहरू त आइरहेकै छन् । तर, पनि सार्वजनिक स्थामा भीडभाड कम गर्ने, सरकारले तोकेको स्वास्थ्य मापदण्डहरूको पालना गर्ने लगायतका कुराहरूमा ध्यान दिनु जरुरी छ । संक्रमितहरूमा पनि त्यति गम्भीर खालका समस्याहरू देखिएका छैनन् । एक–दुई दिन ज्वरो आउने, फेरि निको हुने गरेका छन् । क्वरेन्टाइन र आइसोलेसनका लागि सीमा नाकामा होल्डिङ सेन्टर पनि तयारी हुँदैछ । अस्पतालहरूमा पनि खासै संक्रमितहरू आएका छैनन् । परीक्षण गराएर संक्रमण पुष्टि हुनेहरू पनि घरमै आइसोलेसनमा बसेर औषधि उपचार गर्ने गरेका छन् । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यापार व्यवसाय क्षेत्रलाई सुरक्षित सञ्चालनका लागि खुला राख्नु नै ठीक होला ।

राज्यले पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ
हरि गौतम
उपाध्यक्ष
वीरगन्ज उद्योग वाणिज्य संघ

अहिलेको अवस्थामा लकडाउन गर्नुको कुनै अर्थ छैन । सबैभन्दा पहिले सीमा नाकामा कडाइ गर्नुप¥यो । पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ । नाकामा हुने परीक्षण बढाएर व्यवस्थित गर्नुपर्छ । खोप अभियान पनि फितलो छ । सरकारी काम कहिले जाला घामजस्तो गरेर काम गर्ने गरिएको छ । लकडाउन भनेको तोड्ने हो । अहिलेको अवस्थामा चेन तोडिँदैन । यो समाधान होइन । अरू कुरा लापरबाही गर्ने हो भने लकडाउनको केही औचित्य छैन । अहिले सजिलो अस्त्र भएको विद्यालय बन्द गरिदिने, लकडाउन गरें भनेर देखाउने यो गतिलो काम होइन । राज्यले सबैभन्दा पहिले सीमामा कोरोना संक्रमित देखा पर्छ । उसलाई घर जा भनेर पठाइन्छ । ऊ एक जनाले कति जनलाई सार्छ ? हामीले स्रोतमा जानुपर्छ । पहिलो सीमा नाकामा परीक्षण प्रभावकारी रूपमा गर्नुपर्छ । अझै धेरै संक्रमण हुने जोखिम छ । काठमाडौंमा लगाइएको स्मार्ट लकडाउन त्यही हो । पहिलेजस्तो सबैलाई बन्द गरेको नभई जो जहाँ छन्, उनीहरूलाई मात्रै व्यवस्थापन गर्ने हो । व्यापार–व्यवसाय त्यत्तिकै सकिएको छ । बजारमा पैसा छैन । पैसा दिनुपर्नेहरूले पनि कोरोनाको बहाना गरेर नदिने गरेका छन् । त्यही भएर स्मार्ट लकडाउन गरे पनि नगरे पनि केही फरक पर्दैन । यसै पनि व्यापार व्यवसाय चौपट छ । अहिले भनेको ज्यान जोगाउनेदेखि बाहेक केही कुरा गर्दैनौं । आपूm बाँच्ने र समाज बाँचोस् भन्ने मात्रै छ । व्यापार–व्यवसाय आफैं खत्तम हुँदै गएको छ ।

बन्द गर्नुपर्ने अवस्था ल्याउनु हुँदैन
माधव राजपाल
उपाध्यक्ष
वीरगन्ज उद्योग वाणिज्य संघ

लकडाउन, स्मार्ट लकडाउन, पूर्वसावधानीलगायतका कुराहरू सरकारले सोचेको होला । तर, अहिले जति पनि संक्रमण देखिएको छ ती सामान्य देखिएका छन् । कसैलाई ज्वरो, रुघाखोकी देखिए पनि धेरैमा तीन दिनसम्म मात्रै आउँछ । आफैं डराउनुपर्ने अवस्था त छैन । तर, विश्व स्वास्थ्य संगठनको मापदण्डको हिसाबले सतर्कता आपनाउनुपर्छ भन्ने सरकारको भनाइ आफ्नो ठाउँमा छ । अहिले फेरि विवाह उत्सवको सिजन सुरु भयो । यो अवस्थामा फेरि सबैभन्दा बढी मारमा पार्ने उद्योग, होटल, पर्यटनमा नै हो । सरकारले २५ जनाभन्दा बढी भेला गर्न रोक लगाएको छ । फेरि अर्को एकपटकमा ५० जनासम्म जम्मा गर्न पाउने नियम लगाएको सुनेको छु । तर, एकदमै डराएर हिँड्नुपर्ने चाहिँ देख्दिनँ । पहिलेको लकडाउनले गर्दा व्यापार–व्यवसाय विस्तारै लयमा फर्किंदै थियो । पहिलो लकडाउनमा बन्द भएको इँटा उद्योगहरूले यो वर्षदेखि मात्रै सुरु गरेका छन् । होटल पर्यटन व्यवसाय बल्लतल्ल सुरु भएका छन् । त्यसमा पनि कति प्रचार–प्रसार गर्नुपरिरहेको छ । यो सेवा–सुविधा छ । यति छुट छ जस्ता विभिन्न सेवा–सुविधाहरू राखेर कति धेरै चुनौतीका साथ होटल तथा पर्यटन व्यवसायहरू सञ्चालन गरिरहेका छन् । फेरि बन्द गर्नुपर्ने अवस्था आयो भने हामी ठूलो अर्थतन्त्रको मारमा पर्छौं । लकडाउनमा धेरै उद्योग–व्यवसायहरू बन्द गर्नुपर्ने अवस्था थियो । धेरैले आफ्नो पुँजी गुमाउनुप-यो । बैंकहरूले कर्जा प्रवाह गरिरहेका छैनन् । राष्ट्र बैंकको कडाइले गर्दा निकै चुनौती छ । सरकारको विकास खर्चको अवस्था निराशाजनक छ । यी कुराहरूले व्यापार–व्यवसायहरूमा धेरै असर पारिरहेको छ । सरकारले लकडाउन नगरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सतर्कता अपनाएर जानु नै उत्तम होला ।

संक्रमणबाट जोगिन सतर्कता अपनाउनुपर्छ
प्रदीप केडिया
पूर्वअध्यक्ष
वीरगन्ज उद्योग वाणिज्य संघ

लकडाउन भयो भने पुरानोजस्तै लकडाउन नहोला, तर व्यापार–व्यवसायमा असर त पर्छ । कोरोना संक्रमण अहिले समुदायस्तरमा नै फैलिसकेकाले यसबाट डराउनुपर्ने चाहिँ छ । तर, अस्पतालहरूमा संक्रमितहरू आएका छैनन् । छिटो संक्रमण भए पनि गम्भीर बनाउने खालको छैन, छिटै संक्रमितहरू निको पनि भएका छन् । उद्योग व्यापारमा केही असर त पर्छ । किनभने एउट ठाउँमा धेरै बिरामी प¥यो भने उद्योग सञ्चालनमा अप्ठ्यारो हुन्छ र उत्पादनमा पनि कमी आउन सक्छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले वीरगन्ज हटस्पट बनेको थियो । त्यो अवस्थामा व्यापार व्यवसाय निकै प्रभावित भयो । अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोप धेरै लगाइसकेकोले खोप लागिसकेका व्यक्तिहरूबाट पनि संक्रमण जोखिम कम देखिन्छ । आमसर्वसाधारणमा पनि सचेतना आइसकेको छ । कोरोना संक्रमणबाट जोगिन सतर्कता अपनाउनुपर्छ भन्ने चेतनाको विकास भइसकेको छ । स्वास्थ्य मापदण्डहरू पालना गर्ने गरेका छन् । केही त्यस्ता व्यक्तिहरू छन्, जो सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्ने र लापरबाही गर्नेहरू पनि छन् । अहिले बुस्टर डोज पनि सुरु गरिसकेको छ । यसले समुदायमा संक्रमण फैलिने जोखिम पनि कम हुन्छ । अब लकडाउनभन्दा पनि सरकार र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निर्धारण गरेको मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्ने र खोप अभियान र पीसीआर परीक्षणलाई बढाउनुपर्छ ।

मास्क अनिवार्य गरिनुपर्छ
अशोक टेमानी
पूर्वअध्यक्ष
वीरगन्ज उद्योग वाणिज्य संघ

सचेतना नै यसको मुख्य पक्ष हो । अब यो सामान्यजस्तै भएको छ । जसले खोप लिएको छ, उसलाई मात्रै केही गम्भीर बनाउने गरेको छ । अहिले हाम्रो आर्थिक अवस्था निकै कमजोर भइसकेको छ । अब कोरोना संक्रमण नियन्त्रणका लागि नै स्वास्थ्य मापदण्ड बनाएर बन्द गरियो भने हाम्रो अर्थतन्त्रले धान्न सक्ने अवस्था छैन । अर्थतन्त्रलाई कुनै हिसाबले बन्द नगरौं । यसै पनि प्रदेश २ मा सार्वजनिक बिदा धेरै । अस्ति पनि बिदा, हिजो पनि बिदा । विदेशमा उत्पादन गरेर मनाउँछन् । हाम्रोचाहिँ बन्द गरेर मनाउँछन् । लकडाउन कुनै विकल्प पनि होइन । स्वास्थ्य सेवाहरूलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ । जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरू पनि निकै सक्रिय हुनुभएको छ । मास्कबिना हिँड्नेलाई कारबाही पनि गरेको छ । सचेतनामूलक कार्यक्रमहरू पनि गरिरहेका छन् । यो पनि ठीक छ । कुनै पनि बन्दको गतिविधि भयो भने तुरुन्तै असर पर्छ । फेरि वीरगन्ज नाका भनेको पारवहनको मुख्य केन्द्र हो । बरु वीरगन्ज नाकामा आउनेहरूलाई कडाइका साथ परीक्षण गराउनु र मास्कलाई अनिवार्य गरिनुपर्छ । अहिले फ्लुजस्तै हो । खासै गम्भीर बनाउने खालको छैन । कोरोना संक्रमणको भयावह अवस्था पनि छैन । त्यसैले लकडाउनतर्फ हामी नगएकै राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्