ओमिक्रोनले ज्यान लिन्छ लापरवाही नगरौँ «

ओमिक्रोनले ज्यान लिन्छ लापरवाही नगरौँ

डा. रक्षा गौतम, अल्का अस्पताल

मौसम परिवर्तनको समय सुरु भएसँगै धेरै मानिसमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यससँगै कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ । आममानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो कि कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा दैनिक रूपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ । कोरोना संक्रमण भएको त्रासका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ । अल्का अस्पतालकी चिकित्सक डा. रक्षा गौतमले मौसम परिवर्तनले हुने रुघाखोकी र कोभिड संक्रमणमा ज्वरो आए-नआएको हेर्नुपर्ने बताइन् । यदि ज्वरो आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पीसीआर गराउन सल्लाह दिइन् । संवादमा डा. गौतमले अहिले ओमिक्रोनको संक्रमणलाई लिएर आममानिसमा लापरवाही बढेको बताइन् । ओमिक्रोनको संक्रमण चार–पाँच दिन रहन्छ भनेर लापरवाही गर्नु हुँदैन । ओमिक्रोनसँगको सानो लापरवाहीले ज्यान नै जान सक्ने उनले बताइन् । प्रस्तुत छ, अल्का अस्पतालकी चिकित्सक डा. रक्षा गौतमसँग गरेको कुराकानीको सार :

अहिले अस्पतालहरूमा मौसमी रुघाखोकीको बिमारीको चाप कस्तो छ ?
मौसमी परिवर्तनले हुने रुघाखोकीका लक्षण भएका बिरामीहरूको चाप धेरै बढेको छ । गत दुई हप्तादेखि हाम्रो ओपीडीमा बिरामीको चाप तीन–चार गुणाले बढेको छ । एक जना फिजिसियनलाई नै धौधौ हुने गरी बिरामी आइरहनुभएको छ । मौसमी परिवर्तनले हुने रुघाखोकी मात्रै नभएर अहिलेको यो कोभिड–१९ का बिरामीहरूको चाप पनि त्यसमै मिसिएर हामीले हेरिरहेका छौँ, दिनदिनै बढेको देखिरहेका छौँ ।

अहिले मनिसहरू एकदमै अलमलिएको जस्तो देखिन्छ, एउटा मौसमी फ्लु भयो । अर्को कोभिड–१९ डेल्टा भेरियन्ट, अनि ओमिक्रोन भाइरस संक्रमण कसरी छुट्ट्याउने, कसरी उपचार गर्ने ? सबैको उस्तैउस्तै खालका लक्षणहरू देखिन्छन् । लक्षणका आधारमा आमसर्वसाधारणले कसरी छुट्ट्याउने र कस्तो अवस्था भयो भने पीसीआरका लागि जाने ?
मौसमी परिवर्तनले हुने संक्रमण कमन कोल्ड (चिसोले हुने रुघाखोकी) हो, कमन कोल्डको बेसिक लक्षण छुट्ट्याउने एकदम सजिलो तरिका भनेको ज्वरो हो । यो धेरै हुँदैन, मौसमी परिवर्तनले हुने लक्षणहरूमा ज्वरो आउँदैन बिरामीहरूलाई । सामान्य जीउ दुख्ने, रुघाखोकी लाग्ने, रुघाघोकी एक–दुई दिनमा आफैं ठीक भएर जाने, घरको एउटा सदस्यलाई भएको छ भने प्रायः सबै सदस्यहरूलाई त्यस्तै लक्षण ट्रान्सफर भइराखेको हुन्छ । फ्लु भनेको चाहिँ जुन ओमिक्रोन, डेल्टा, कोभिड अथवा इन्फ्लुएन्जा हो । सबै फ्लुको फेमिलीमा पर्छन् । हामीले इन्फ्लुएन्जा सुनिरहेको फ्लु हो । सिजनल फ्लु हरेक वर्ष हुन्थ्यो । सय वर्ष अघिदेखिको फ्लु हो यो । इन्फ्लुएन्जा र कोभिड फ्लुमा चाहिँ हामी प्रायः ज्वरो पनि देख्छौँ । ज्वरो आयो भने पक्कै पनि मलाई फ्लु भयो भनेर बुझ्नुप-यो । फ्लुमा पनि इन्फ्लुएन्जा हो कि, कोभिड–१९ हो कि, कोभिड–१९ को डेल्टा हो कि ओमिक्रोन हो ? त्यो छुट्ट्याउन लक्षणकै आधारमा चाहिँ अलिकति गाह्रो छ । तर, हामीले बिरामीको प्याटर्न हेर्दाखेरिचाहिँ फ्लु भएकाहरूलाई, इन्फ्लुएन्जा भएकाहरूलाई ज्वरो, रुघाखोकी, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, जीउ दुख्ने, झाडापखाला लाग्ने, प्रायः बास्ना र स्वाद जाने त्यस्तो लक्षणचाहिँ कोभिडमा मात्रै देखिरहेको छ । बास्ना र स्वाद पनि गएको हामीले यसपालि पाएका छौँ । र, अहिले ओमिक्रोनको कुरा गर्दा त्यही लक्षणहरूमा प्लस, माइनस तथा घाँटी दुख्ने लक्षणहरू अलि बढी हामीले ओपीडीमा पाइरहेका छौँ । घाँटी एकदमै दुख्यो भनेर आउनुहुन्छ । टन्सिल नै भयो भनेर आउनुहुन्छ, तर हामीले हेर्दाखेरि यो पिक सिजन भइराखेको छ कोभिडको, हामीले बिरामीहरूलाई हेर्दाखेरि पीसीआर गर्दा पोजेटिभ आइराखेको छ । तर, अब घाँटी दुख्दैमा, ज्वरो आउँदैमा, रुघाघोकी लाग्दैमा यही ओमिक्रोन हो, यही डेल्टा हो, बास्ना र स्वाद छैन— यो डेल्टा हो, बास्ना र स्वाद छ— यो इन्फ्ल्युएन्जा हो भनेर हामीले क्लिनिकली छुट्ट्याउन सकिँदैन । पीसीआर गर्नैपर्छ ।

मौसमी फ्लुलाई कसरी उपचार, हेरचाह तथा कस्तो खालको व्यवस्थापन गर्ने ? कस्तो अवस्थामा अस्पताल जाने ? घरमै बसेर उपचार गर्न सकिन्छ कि ?
मौसमी परिवर्तनले हुने कमन कोल्ड, जुनमा ज्वरो हुँदैन, त्यो सामान्य घरमा पाइने पारासिटामोलजस्ता औषधिहरू प्रयोग गरेर, पहिलेदेखि चलिआएका चलनहरू मन तातो पानी खाने, पानीको मात्रा शरीरमा बढाउने, आराम गर्ने, धपेडी नगर्ने, चिसोमा नहिँड्ने त्योचाहिँ मौसमी कमन कोल्डलाई त्यतिले नै पुग्छ । खासै डाक्टरकोमा गइहाल्नु पर्दैन । कमन कोल्ड हुँदाखेरि ओपीडीमा धाउनु पर्दैन, जहाँ ज्वरो हुँदैन बिरामीलाई । जब ज्वरो आउन थाल्छ नि, ज्वरो आएपछि यो फ्लुमा जान्छ । फ्लु भन्नेबित्तिकै मौसमी परिवर्तनले हुने कमन कोल्ड फरक कुरा हो । फ्लु भनेको भाइरसले गर्दा हुने हो । फ्लुमा चाहिँ ज्वरो पनि आउँछ । दुई–तीन दिन ज्वरो आउँछ । प्रायः हामीले प्याटर्न हेर्दाखेरि बिरामीलाई तीन दिनसम्म ज्वरो आएको । तीन दिनपछि ज्वरो आफैँ बिसेक हुँदै गएको अनि हल्का रुघाखोकीको समस्या, अलिकति जीउ दुख्ने हुन्छ । सामान्य पारासिटामोल आफैँले खाइराख्नुभएको छ बिरामीहरूले । अहिले जनचेतना धेरै जाग्या छ । कतिपयलाई तीन दिनभन्दा बढी ज्वरो आइरा’छ । ज्वरो १०२, १०३ भन्दा घटेको छैन, सिटामोलको प्रयोग गर्दाखेरि पनि ज्वरो घटेको छैन । जीउ दुखिराखेको छ । छाती भारी भइराखेको छ । खोकी बढिराखेको छ । पल्स अक्सिमिटरमा अक्सिजन चेक गर्नुहुन्छ, अक्सिजनको मात्रा ९४ भन्दा झर्न थालेको छ । बिरामीले खाना पटक्कै खानुभएको छैन । एकदमै विक हुनुभएको छ भने उहाँलाई तुरुन्तै ओपीडी ल्याएर डाक्टरसँग परामर्श लिन म आग्रह गर्छु ।

यस प्रकारको संक्रमणमा सामान्यतया सर्वसाधारणबाट हुने लापरवाही कस्तो हो ? त्यसलाई कसरी व्यवस्थापन गर्ने ?
दुई थरी पेसेन्ट (बिरामी) हरू हुनुहुन्छ । एकथरी रुघा लाग्नेबित्तिकै आउनुहुन्छ जँचाउन । त्यसमा हामीले खासै गर्नुपर्ने केही हुँदैन । काउन्सिलिङ गर्दिन्छौँ । रेस्ट गर्नु भन्छौँ । रेस्टले नै निको हुन्छ आधीभन्दा बढी यो । फ्लु होस् अथवा मौसम परिवर्तनले हुने कमन कोल्ड होस्, इन्फ्लुएन्जा होस्, कोभिड होस् । रेस्ट मात्रै गरे पनि निको भइराखेको छ कत्तिलाई । कतिचाहिँ कस्तो हुन्छ भने धेरै गाह्रो भइसक्दा पनि आउनुभएको छैन उहाँहरू अस्पताल । सास–प्रश्वासमा समस्या भयो, बिरामीले खाना पटक्कै खानुभएको छैन । दीर्घरोग लागेका बिरामीहरू हुनुहुन्छ । घरमा अक्सिजन नाप्दा अक्सिजनको मात्रा तलमाथि भएको छ भने अक्सिजनको सिलिन्डर छ घरमा भनेर नबस्नु । एकचोटि आउनुस् । डाक्टरले हेर्नुहुन्छ, छातीको एक्सरे गर्नुहुन्छ । निमोनियाँ भइसक्या छ कि छैन, हामीले छुट्ट्याउनुपर्ने हुन्छ । निमोनियाँ भएका बिरामीहरूलाई अस्पतालमै भर्ना गरेर उपचार गर्न म आग्रह गर्छु ।

संक्रमणमा हाम्रो अस्पतालमा कस्तो किसिमको स्वास्थ्य उपचारको व्यवस्था छ ?
कोभिड आएदेखि हामीले पोजेटिभ बिरामीहरूलाई राख्ने एउटा अलग व्यवस्था गरेका छौँ । नेगेटिभ बिरामीलाई राख्ने अलग व्यवस्था छ । लक्षणहरू सबै मिल्छ कोभिडसँग तर आरटी पीसीआर गर्दा नेगेटिभ आयो भने उहाँहरूलाई अलग राख्ने व्यवस्था छ । सबै पोजेटिभ बिरामीहरूलाई भर्ना गर्ने हामीले गरेका छैनौँ । यदि माइल्ड छ, सामान्य लक्षण छ भने काउन्सिलिङ गरेर, घरमा नै उपचार गरेर, डाक्टरले औषधिहरू दिएर घर पठाइराखेका छौँ । अक्सिजन पर्याप्त मात्रामा शरीरमा पुगेको छैन भन्नेजस्तो हामीलाई डाउट (शंका) लाग्नेबित्तिकै हामीले बिरामीलाई भर्ना गरेर दुई–चार दिन उहाँहरूलाई क्रिटिकल केयर तथा छाती विशेषज्ञ र फिजिसियन हामी तीन जनाको टिम मिलेर क्लोज अब्जरभेसनमा राखेर उपचार गरिराखेका छौँ । निको भएर गइराख्नुभएको छ । पहिला–पहिलाको जस्तो महामारी जुन थियो त्यस्तो अवस्था आएको छैन । त्यही भएर कन्ट्रोल नै गर्न नसकिने, इमर्जेन्सीमा बेड नै नभएको । अक्सिजन नै नपुगेको यसपालि हामीले आजको दिनसम्म भेटेनौँ । त्यतिबेलाको जस्तो वेग आउँछ भनेर हामीले जुन तयारी ग-यौँ मानसिक रूपमा, अस्पतालको व्यवस्थापनमा जुन हिसाबले तयारी भएर बस्यौं, त्यो कारणले गर्दा यसपालि व्यवस्थापनमा त्यति असहजता छैन ।

अन्त्यमा, विशेषज्ञको रूपमा सर्वसाधारणलाई स्वास्थ्यको सुरक्षाका लागि के–कस्तो सुझाव दिनुहुन्छ ?
सुझाव म के दिन चाहन्छु भने पहिले सुरुमा डेल्टा होस् या ओमिक्रोन होस् या कुनै पनि भेरियन्ट होस्, हामीले पीसीआर गरेर छुट्ट्याउन सक्दैनौँ । यो जनमानसमा गलत धारणा छ कि डाक्टरकहाँ गएपछि उहाँले ओमिक्रोन हो कि होइन, छुट्ट्याइदिन सक्नुहुन्छ भन्ने छ । हामीले पेसेन्टको लक्षण हेरेर तपाईंहरूलाई भन्न सक्दैनौँ । अर्को एउटा के धारणा गलत छ भने त्यो सिटी भ्यालु देखाउन आउनुहुन्छ । पीसीआरको रिपोर्टमा जुन सिटी भ्यालु लेखेको हुन्छ, मेरो त कम छ, उहाँको बढी छ, मलाई अलि गाह्रो हुने हो कि, त्यसका आधारमा बिरामीलाई गाह्रो हुन्छ, बिरामीलाई आईसीयूमा भर्ना गरिन्छ कि बिरामीलाई माइल्ड हुन्छ भनेर छुट्टयाउन सक्ने त्यो क्यापेबिलिटी छैन । त्यसमा कन्फ्युजनमा नपर्नुस् । पीसीआर गरेर ओमिक्रोन हो कि होइन भनेर थाहा पाउन सकिँदैन । ओमिक्रोनका लागि छुट्टै जिन सिक्वेन्सिङ भनेर हाम्रो प्रयोगशालाबाट बाहिर पठाउनुपर्ने हुन्छ, त्यो सबै स्याम्पललाई हामी गर्दैनौँ । अनि थाहा भएर पनि कोभिडको उपचारमा केही परिवर्तन आएको छैन नि त । त्यो ओमिक्रोन होस् या डेल्टा होस्, उपचार त्यही हो । रोगीहरूको प्याटर्न त्यही हो । कतिबेला निको हुन्छ, कतिबेलादेखि सर्दैन भनेर हामी काउन्सिलिङ गर्दिन्छौँ, आउनुहोला ओपीडीमा । अनि अर्को कुरा, हात धुने । स्यानिटाइजरहरू लगाउने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, अनावश्यक कामका लागि बाहिर नहिँड्ने, यो कुरा हामीले भनिरहेका छौँ, बारम्बार मानिसहरूलाई बानी बसोस् भनेर । ९० प्रतिशत बिरामीहरूको अहिले माइल्ड छ । पहिला पहिलाको वेभजस्तो आईसीयू, बेडको अभाव, अक्सिजनको अभाव छैन । त्यसो भन्दैमा बेपर्वाह हुनु भएन । ओमिक्रोन हो, केही हुँदैन भन्ने पनि आएको छ अहिले धारणा । ओमिक्रोन पनि जटिल रूपमा निमोनियाँ भएर बिरामीहरू नराम्रो अवस्थामा गएको पनि हामीले देख्या छौँ । त्यही भएर पहिलाजस्तै सतर्क भएर हात धुने, स्यानिटाइजर लगाउने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र अनावश्यक कामका लागि बाहिर भीडभाड नगर्ने ।

प्रतिक्रिया दिनुहोस्