जोरबिजोर प्रणालीको अव्यावहारिकता «

जोरबिजोर प्रणालीको अव्यावहारिकता

सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिदिएपछि अत्यावश्यक सेवा प्रवाहका लागि समस्या पर्छ ।

कोरोनाको तेस्रो लहरले उग्र रूप लिँदै जाँदा शुक्रबार मध्यरातिदेखि उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् । भन्न त भीडभाडजन्य गतिविधिहरूलाई निरुत्साहित गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको भने तापनि यसबाट हुन सक्ने अनियन्त्रित भीडका बारेमा प्रशासन कार्यालयहरूको आकलन गलत हो । किनकि सरकारीलगायत अन्य सबै सेवा तथा व्यवसाय निरन्तर चलेपछि नागरिकको चहलपहल हुन्छ नै । त्यसैले जोरबिजोर गरेर सवारी साधनको संख्या आधा बनाए पनि यात्रु घट्ने सम्भावना कम हुन्छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार निजी सवारी साधनदेखि उपत्यकामा आवतजावत गर्ने सबै प्रकारका सवारी साधनको संख्या १४ लाख हाराहारी छ । १४ लाख सवारी साधनले बोकेका यात्रुले ७ लाख सवारी साधन प्रयोग गर्दा अवस्था कस्तो होला भन्ने अनुमान लगाउन कठिन छैन । त्यसैले पनि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागू गर्नु अव्यावहारिक तथा तर्कसंगत छैन ।
सवारी साधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहर प्रशासनले गरेको भन्दै गर्दा आवश्यकताभन्दा बाहेकका गतिविधि भनेको के हो, त्यो पनि स्पष्ट पार्नु आवश्यक छ । निश्चय नै भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरूका कारण कोभिडको संक्रमण फैलावटमा मद्दत गरिरहेको छ र भीडभाडजन्य गतिविधि न्यूनीकरण गर्नु आवश्यक पनि छ । तर, सरकारी कार्यालयको सेवाप्रवाहको स्थितिले आफैं प्रशासन कार्यालयको तर्कलाई गलत देखाउँछ । किनकि सरकारी कार्यालयमा भीडभाड नभएको तथा भीडभाड नगरीकनै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह भएको उदाहरण उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयमा पाइन्न । पासपोर्ट बनाउन राष्ट्रिय परिचायपत्र अनिवार्य गरेपछि रातिदेखि नै सेवाग्राहीले लाइन बसेको काठमाडौं जिल्ला कार्यालयमा देख्न सकिन्छ । सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गरेर सेवाग्राहीमैत्री हुनुभन्दा कार्यालयमा भीड जम्मा गरेर सेवा दिने पुरातन प्रणालीलाई जोगाइराख्ने प्रशासन कार्यालयहरू नै भीडभाड कम गर्न सवारी साधनमा जोरबिजोर लगाउने हुन् भने कसरी भीडभाड कम हुन सक्छ ।
हो, नागरिक पनि अनुशासित छैनन्, अनावश्यक काममा पनि हिँडडुल गर्छन् । तर, त्यसका लागि अनुगमन तथा सामाजिक सचेतना वृद्धि गर्ने हो, न कि सवारी साधन जोरविजोर गरेर भीड बढाउने । मानिसहरूको आवतजावत, हिँडडुललाई व्यवस्थापन गर्न अन्य विभिन्न उपाय गर्नुपर्छ । तर, सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिदिएपछि अत्यावश्यक सेवा प्रवाहका लागि समस्या पर्छ । उपचारका लागि जाने नागरिक जोरबिजोरको नाममा बढी ठगिन्छ । यसै पनि अनुगमन फितलो भएको अवस्थामा अव्यावहारिक नियमले स्थितिलाई झन् जटिल बनाउन मद्दत गर्छ । यातायात व्यवसायीहरू पनि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्दा भीडभाड कम हुने कुरामा विश्वस्त छैनन् । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क अवैज्ञानिक भएको भन्दै उनीहरू सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने बताउँछन् । एक त काठमाडौं उपत्यकामा साना सार्वजनिक सवारी साधन धेरै छन् । ठूला सवारी साधन चलाउनुपर्ने उपत्यकामा पछिल्लो समय साना सवारी साधनका कारण पनि संक्रमणको खतरा बढेको छ । त्यो पनि आधा चलेपछि संक्रमण नियन्त्रण हुनुको साटो झन् वृद्धि हुने कुरामा दुईमत छैन । त्यसैले सबैभन्दा राम्रो उपाय भनेको जनचेतना बढाउने हो । त्यसका लागि सर्वसाधारणलाई लापरवाही नगर्न तथा कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गराउने तथा सावधानी अपनाएर व्यापार–व्यवसाय गर्न प्रेरित गर्ने हो । पहिलो तथा दोस्रो लहरभन्दा स्वास्थ्यका हिसाबले कम जोखिमपूर्ण रहे पनि ओमिक्रोन भाइरसको संक्रमण दर बढिरहेका कारण आममानिसलाई आआफ्नो क्षेत्रबाट सहयोग र सचेत रहन पनि सरकारले अपिल गर्नुपर्छ । खोप नलगाएकालाई सकेसम्म छिटोभन्दा छिटो खोप लगाउन प्रेरित गर्ने तथा कोरोनाविरुद्ध खोप लगाउन सहज बनाउने कार्यमा सरकारले बढी ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्