Logo

लागतभन्दा न्यून मूल्य निर्धारणले सिटामोल अभाव

कोभिड संक्रमणको दर एक्कासि बढेसँगै बजारमा सिटामोलको अभाव भएको छ । आम उपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सरकारले शुक्रबारसम्ममा सिटामोल अभाव नहुने प्रतिबद्धता जनाएको भए पनि स्थिति अझै सहज हुन सकेको छैन ।
औषधि उत्पादकहरुका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकमत मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपैयाँ निर्धारण गरेको छ । तर उत्पादकहरुका अनुसार यसको उत्पादन लागत नै एक रुपैयाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् । नेपाल औषधि उद्योग सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको छ । उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएका छन् ।
व्यवसायीहरुका अनुसार बजारमा सरकारी कम्पनीको सिटामोल अभाव भइरहे पनि अन्य निजी कम्पनीका प्यारासिटामोल ट्याब्लेट भने सहज रुपमै उपलब्ध भइरहेको छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे कोभिड संक्रमण बढेकाले एकैपटक सिटामोलको अत्यधिक मागका कारण बजारमा केही अभाव देखिनु स्वाभाविक भएको बताउँछन् । तर, सिटामोल अभाव भए पनि हाहाकारको अवस्था भने नरहेको उनको दाबी छ । सरकारी कम्पनीका अतिरिक्त स्वदेशी निजी कम्पनीहरुले प्यारासिटामोल उत्पादन गर्ने गरेको र पछिल्लो दुई दिन शुक्रबार र शनिबार ५० लाख ट्ब्यालेट प्यारासिटामोल बजारमा पठाइएको जानकारी उनले दिए । संघले औषधिको अद्यावधिक अवस्था सरकारी निकाय औषधि व्यवस्था विभागलाई जानकारी गराउँदै आएको छ ।
पाण्डेकाका अनुसार सरकारले निर्धारण गरेको मूल्यका कारण यसको पर्याप्त उत्पादन हुन नसकेको हो । निजी व्यवसायीहरुले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मात्रै सिटामोल उत्पादन गर्दै आएको उनको भनाइ थियो । “सिटामोलको मूल्य भारतमै एक चक्कीको २ रुपैयाँ १५ पैसासम्म पर्छ तर सरकारले नेपालमा यसलाई दशकभन्दा धेरै समयदेखि एक रुपैयाँ मूल्य तय गरेको छ ,” पाण्डेले भने ।
सरकारी स्वामित्वको नेपाल औषधि उद्योगले भने बजारमा सिटामोल अभाव भएपछि पछिल्लो दुई दिनमा ६ लाख ट्याब्लेट बजारमा पठाएको जनाएको छ । लामो समय बन्द भएर तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा पुनः सञ्चालनमा आएको यो उद्योगले सरकारले निःशुल्क वितरण गर्ने सिटामोल उत्पादन गर्दै आइरहेको छ । उद्योग पुनः सञ्चालनका लागि सरकारले ६ करोड रुपैयाँ अनुदान दिएको थियो । तर, उद्योगको वित्तीय अवस्था हेर्दा यो लामो समय सञ्चालन हुने नदेखिएको जानकारहरु बताउँछन् ।
उद्योग पुनः सञ्चालनपछि यसले वार्षिक २३ लाख चक्की सिटामोलमात्र बिक्री गरेको तथ्यांक छ । नेपाल औषधि लिटिमेडका महाप्रबन्धक महम्मद सफिउल्लाहले बढी बिरामीको चाप हुने अस्पतालका औषधि बिक्री कक्षमा शुक्रबार र शनिबार सिधै सिटामोल पु-याइएको जानकारी दिए । आइतबार पनि यो क्रम निरन्तर चल्नेछ । ३३ लाख ट्ब्यालेट बनाउन कच्चा पदार्थ तयारी अवस्थामा रहेको र थप कच्चा पदार्थ आयातको लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए । उनका अनुसार सरकारी खरिद ऐनका कारण कच्चा पदार्थ आयातमा समस्या छ । औषधि लिमिटेडले झन्डै २ करोड ट्ब्यालेट माग आउने अनुमान गरी सोहि अनुसारको योजना बनाई ६ महिनामा ८० लाख ट्ब्यालेट बनाएको जनाएको छ । प्रतिट्ब्यालेट १ रुपैयाँ ३० पैसा लागत लागे पनि सरकारले १ रुपैयाँ मूल्य निर्धारण गरेकोले छ । लिमिटेडबाट उत्पादन हुने जीवनजल, स्यानिटाइजर लगायतको माग न्यून भएका कारण पनि खर्च धान्न कठिन छ । महाप्रबन्धक सफिउल्लाहले कम्तीमा सरकारी निकायबाट लिमिटेडका उत्पादन माग गरिदिने हो भने सिटामोलको घाटा पूर्ति गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्