जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव «

जनस्वास्थ्यका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव

कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने सुझाव दिएका छन् ।
विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतका दिनमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने बताएका हुन् । संकटको बेलामा सरकारले पर्यटन व्यवसाय लगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्ने भन्दा पनि जनस्वस्थ्यका नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए । उनले यस्तो बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनु पर्ने भन्दै व्यवसायीहरुले पनि एउटा पेशामा मात्रै आधारित भएर काम गर्नु नहुने बताए । उनले राज्यले भरोसा नदिएको खण्डमा मजदुर र व्यवसायीहरु आफ्नो पेशाबाटै पलायन हुने अवस्था आइसकेको पनि बताए ।
कम्पनीहरुले विगतमा तिरेको करको आधारमा सरकारले राहत रकम उपलब्ध गराउनु पर्ने सुझाव दिदै व्यवसायी बाँस्तोलाले थुप्रै ब्यवसायीहरु ऋण खोजेर तथा ब्याजमा पैसा लिएर टिकिरहेको बताए । तर, अब टिक्ने अवस्था छैन, उनले भने, सरकारले पैसा दिँदैमा समस्याको समाधान हुन्छ भन्ने होइन तर तत्कालको लागी सहज हुन्छ ।
उनले पर्यटन व्यवसायसंगसंगै अल्टरनेट बिजनेशमा पनि जान आवश्यक रहेको पनि बताए । कोही नयाँ ढंगले एग्रिकल्चरमा जान सक्नुहोला । कोही अन्य सीप छ भने अरु व्यवसायमा जोडिनुहुन्छ होला । तर जोडिनका लागि पूँजि चाहिन्छ । त्यो पूँजि राज्यले सहुलियत बयाजमा ऋणस्वरुप उपलब्ध गराउनु पर्छ ।’
यदि सरकारले राहतमा ढिलाइ गरेमा पर्यटन व्यवसायी र मजदुरहरु बिस्थापित हुने पनि उनको भनाइ छ ।
त्यस्तै एति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताए । उनले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै व्यवहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए । उनले सबै बालबालिकाहरुले कोरोनाबिरुद्धको खोप नलगाइसकेको र नेपालमा पनि पर्याप्त जनसंख्याले खोप नपाएकोले सरकारले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान कठीन रहेको बताए । ‘अहिलेसम्म ३५-४० प्रतिशत नेपालीले मात्रै खोप लगाएका छन् । बाँकी ६५ प्रतिशतले जहाज चढ्न पाउने कि नपाउने,’ उनले भने ।
यसैगरि, होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताए । उनले सरकारले विगतमा झैँ यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको भन्दै व्यवसाय टिकाउने कुरामा पनि ध्यान दिनुपर्ने बताए । उनले आर्थिक गतिविधिलाई पनि चलायमान बनाएर अघि बढ्नुपर्ने तथा नियन्त्रणको कुरा मात्रै गर्दा ब्यवासाय गर्न झनै गाह्रो भएको बताए । स्वास्थ्यको मापदण्ड पालना गराउनु र यति ठूलो संक्रमण भएको बेलामा नियन्त्रण गर्नु ठिक हो तर त्योसँगै व्यवस्थापनका उपायहरु कसरी गर्ने ? व्यवसाय कसरी टिकाउने कुराहरु सरकारले हेरेकै छैन,’ उपाध्यक्ष शाहले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्