Logo

दैलेखमा ‘तपाईंको माक्स खोइ’ अभियान सञ्चालन

कोभिड–१९ को पहिलो र दोस्रो लहर नियन्त्रणसँगै पुनः क्रमिक रूपमा तेस्रो लहरको संक्रमण फैलिरहेकाले समयमा नै संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्न दैलेख प्रहरीले ‘तपाईंको मास्क खोइ’ अभियान सुुरु गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम न्यूनिकरण गर्न अभियान सञ्चालन सुुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
नेपालमा तेस्रो लहरको कोरोना सक्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गएकाले वुधवार दैलेख प्रहरीको आयोजनामा नेपाल पत्रकार महासंघ दैलेखसहितको टोलीले दैलेख सदरमुकाममा यस अभियानलाई निरन्तरता दिदै मास्क वितरण गरेको हो । सदरमुकामका प्रत्येक पसलहरु तथा प्रत्येक नागरीकलाई भेट्दै मास्क नलगाएका व्यक्तिलाई मास्क वितरण गरिएको हो ।
दैलेख प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साह, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापालगायतको टोलीले मास्क नलागाएका सदरमुकाममा रहेका पसलका व्यापारी तथा अन्य कामकाजमा हिँडेका नागरिकहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न भन्दै घर दैलोमा पुगी मास्क वितरण गरेको थियो । व्यापारीहरुले पनि अनिवार्य मास्क लगाउने र पसलमा आउने ग्रहाकलाई पनि अनिवार्य मास्क लगाएर आउन सल्लाह दिनुपर्ने अभियान टोलीले आग्रह गरेको थियो ।
अभियानमा व्यापारी तथा अन्य नागरिकहरुलाई कोरोना संक्रमणको उच्च जोखिमबाट वच्न स्वास्थ्यका मापदण्ड अपनाई हिँड्डुल तथा नियमित कामकाज गर्दा मास्कको अनिवार्य प्रयोग गर्न दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्रप्रसाद साहले आग्रह गरेका थिए । वजारमा हिँड्डुल गर्दा तथा अन्य कामकाजमा निस्कँदा अनिवार्य माक्सको प्रयोग गर्ने यदि मास्कको प्रयोग नगरेको पाइएमा कारवाही तथा जरिवाना गर्ने डीएसपी साहले वताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखले स्वास्थ्य सुरक्षाका मापडण्डसम्बन्धी सचेतना जगाउने, मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु तथा सर्वधारणलाई सचेत पार्दै ३ हजार थान मास्क वितरण गरिएको जानकारी दिँदै डीएसपी साहले यो अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए ।
यस्तै अभियानका क्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले आम नागरिक सचेत भई कोरोनाको संक्रमणवाट बच्न सबैले स्वास्थ्य मापदण्ड अपनाई मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिए । नेपाल पत्रकार महासंघ विगत देखिनै यस अभियानमा सक्रिय रहेको बताउँदै अध्यक्ष थापाले कोरोनालाई कसैले पनि सामान्यरुपमा नलिई यसबाट बच्न उच्च सर्तकता अपनाइ स्वास्थका मापदण्ड अपनाइ नियमित कामकाज गर्न आग्रह गरेका छन् ।
साथै यसअघि नै जिल्ला प्रशासन कार्यालय दैलेखले कोभिड–१९ को तेस्रो लहरबाट वच्न २५ जनाभन्दा बढीको संख्यामा जम्मा हुन नपाइने, मेला महोत्सव, विवाह, वर्तवन्ध जस्ता नागरिक भेला हुने खालका कार्यहरु गर्न नपाइने, सभा, सेमिनार तथा राजनैतिक गतिविधि गर्न नपाइने र अनाआवश्यक हिँड्डुल नगर्न तथा जरुरी कामले घर बाहिर निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न आदेश जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्