आहा रारा गोल्डकप दर्शकबिनै सञ्चालन «

आहा रारा गोल्डकप दर्शकबिनै सञ्चालन


कोरोनाका कारण दर्शकबिनै पोखरामा बिहीबारदेखि आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ सुरु भएको छ । पोखरा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जित हासिल गरेको छ ।
एपीएफले आयोजक सहारा क्लवलाई २–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । यही माघ ८ गते एफिएफले पाहुना टोली अमेरीकाको विवाईएससी मिनीसोटासँग प्रतिष्पर्धा गर्ने भएको छ । एपिएफको जितमा सविन थापा र प्रदिप लामाले एक एक गोलको योगदान दिए । थापाले खेलको सुरुवातीमा एक गोल गरेका थिए भने दोश्रो हाफको सुरुवातीमा लामाले एक गोल गरी जित सुनिश्चित पारेका हुन् ।
सहाराका प्रशिक्षक प्रल्हाद हिराचनले एक दिनको तयारीमा विदेशी खेलाडीहरुको टिम तयार पारे पनि राम्रो तालमेल हुन नसक्दा पराजित हुनु परेको बताए । एपिएफका प्रशिक्षक कुमार थापाले सहाराको जोडजामको टिम भएकोले त्यसको फाइदा उठाउँदै जित सहज भएको बताए । आफूहरुले पहिलो पटक तीन जना विदेशी खेलाडी सहित काठमाडौं बाहिर खेलेको उनले जनाए । यस अघि सहाराले १२ औं आहा रारामा उपाधि जितेको थियो । दर्शक विना खेल खेल्दा आफूहरुलाई समेत खल्लो अनुभव हुने सहाराका प्रशिक्षक हिराचनले गुनासो गरे ।
शुक्रबार हिमालयन शेर्पा विरुद्ध नेपाल पुलिस क्लवबिच खेल हुने भएको सहारा क्लवले जनाएको छ । बिहीबारको खेलमा एपिएफका नविन लामा म्यान अफ दी म्याच घोषित भए ।
उक्त प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरीङ शेर्पाले गरेका थिए । आगामी वर्षदेखि आहा रारालाई आफ्नो वार्षिक क्यालेण्डरमा समेत समावेश गर्ने उनले जनाए ।
क्याराभान गोल्ड कपसहितको २१ औं संस्करणको आहा रारा गोल्ड कपको इतिहासमै पहिलो पटक दर्शक विना खेल सुरु भएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने नारासहित यही माघ १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा पाहुना टोली सहित १० टिमको सहभागिता रहेको महासचिव रामजी प्रसाद अधिकारीले बताए ।
प्रतियोगितामा अमेरिकाको विवाईएससी मिनीसोटा, संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब र घरेलु टिम सहारा क्लब सहभागि हुने भएको क्लवले जनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो । प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी गरी १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिब अधिकारीले जनाए । क्याराभान गोल्ड कप सहित २१ वर्षदेखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको क्लवले जनाएको छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ उक्त प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्