जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेस्टुराँ, सपिङ मललगायत सार्वजनिक सवारी साधनमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएकाले बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । सडकमा मास्क नलगाई हिँडिरहेका र मास्क नलगाई पसलमा बसिरहेका आठ जनालाई प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरिएको पनि उनले जानकारी दिए । अनुगमनका क्रममा मानिसहरू पहिलेको तुलनामा कमैमात्र बाहिर निस्किएको पाइएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिने जनाएको छ । कोभिड–१९ को तेस्रो लहरलाई कम गराउन र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागिपरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।