Logo

६ महिनामा साढे २८ लाख राजस्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८-०७९ को ६ महिनामा २८ लाख ५५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
ट्राफिक प्रहरी इन्चार्ज दलबहादुर खत्रीका अनुसार साउनदेखि पुस मासन्तसम्मको अवधिमा ट्राफिक नियम विपरीत सञ्चालन भएका ३९ सय वटा सवारी साधन कारबाहीबाट उक्त रकमको राजस्व संकलन भएको हो ।
साउनमा ४ सय १३ सवारी कारबाहीबाट २ लाख ६३ हजार, भदौमा ५ सय ८७ सवारी कारबाहीबाट ४ लाख ४४ हजार, असोजमा ५ सय ५० सवारी कारबाहीबाट ४ लाख ७ हजार, कात्तिकमा ९ सय ५ सवारी कारबाहीबाट ६ लाख ५३ हजार, मंसिरमा ९ सय ४५ सवारी कारबाहीबाट ७ लाख १० हजार ५ सय र पुसमा ५ सय सवारी कारबाहीबाट ३ लाख ७८ हजार राजस्व संकलन भएको खत्रीले जानकारी दिए ।
६ महिनाको अवधिमा सबैभन्दा बढी मोटरसाइकल १ हजार ८ सय ३४ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । यस्तै यस अवधिमा कार, जीप र भ्यान गरी १ हजार २ सय १५ वटा, ट्याक्टर २ सय ८२ वटा, बस र अटो–टेम्पो समान ६२÷६२ वटा, टिप्पर ३५ वटा र अन्य ५ वटा सवारी साधन कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार लाइसेन्स नलिएका, साथमा कागजात नबोकेका, मादक पदार्थ सेवन, स्वरूप परिवर्तन, ओभरस्पीड र ओभरलोड गरी चलाइएका, हेल्मेट र सिटबेल्ट प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो । ट्राफिक नियम उल्लंघनमा कमी ल्याउन विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्