प्रदेशका ३० वटा होमस्टेलाई १० लाख अनुदान

गण्डकी प्रदेश सरकारले पहिलो चरणमा ३० वटा सामुदायिक होमस्टे (घरबास कार्यक्रम) लाई आर्थिक सहयोग गर्ने भएको छ ।
प्रदेशको पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत पर्यटन कार्यालय पोखराले अनुदानका लागि आवेदन दिएका ६२ वटा होमस्टेमध्ये पहिलो चरणमा ३० वटा छनौट गरेको पर्यटन कार्यालय पोखराका प्रमुख पुरन गिरीले बताए ।
प्रदेशका ११ जिल्लामध्ये पहिलो चरणमा सबै भन्दा धेरै कस्कीका ९ वटा सामुदायिक होमस्टे छनौटमा परेका छन् भने बागलुङबाट ४ वटा होमस्टे छनौट भएका छन् । मनाङ र म्याग्दी जिल्लाबाट पहिलो चरणमा होमस्टे अनुदान कार्यक्रमका लागि छनौट हुन नसकेको प्रमुख गिरीले बताए ।
मनाङबाट होमस्टे कार्यक्रमका लागि कुनै आवेदन परेन भने म्याग्दीबाट ३ वटा आवेदन परे पनि निश्चित मापदण्ड भित्र पर्न नसकेको उनको दाबी छ । यस चालु आर्थिक वर्ष प्रदेश सरकारले ५० वटा सामुदायिक होस्टेलाई जनही १० लाखको दरले अनुदान दिने बजेटमै उल्लेख गरेको थियो । प्रदेशमा हाल ३ सय ७ वटा सामुदायिक होमस्टे रहेको कार्यालयले जनाएको छ ।
केही समय पछि पुनः दोश्रो चरणबाट २० वटा होमस्टे छनौट हुने भएको प्रमुख गिरीले जनाए । अधिकांश होमस्टेले सामुदायिक भवन निर्माण, शौचालय निर्माण, पदमार्ग निर्माण, पार्क तथा संग्राहलय निर्माणका लागि प्रस्ताव पेश गरेका छन् ।
स्टमेट नै कम पेश गरेका कारण कास्कीको माछापुच्छ«े गाउँपालिका २ स्थित घलेखर्क सामुदायिक होमस्टेको लागि ७ लाख ८४ हजार मात्र बजेट विनियोजन भएको छ भने अन्य सबैका लागि १० लाख अनुदान विनियोजन भएको छ ।
बिहीबार सबै होमस्टेसँग प्रदेश सरकारले सम्झौतासमेत गरेको कार्यालयले जनाएको छ । पर्यटक आगमन, संस्थाको नविकरण, कर चुक्ता, पर्यटकीय गतिविधिलगायतका आधारमा होमस्टे छनौट भएको बताइएको छ ।