राष्ट्रिय प्रसारणलाइनमा जोडियो साप्सु खोला आयोजना

६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ केभी जलजले–वुइपा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान भएको हो ।
हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋण तथा डेभलपर (सञ्चालक) को ३५ प्रतिशत स्वपुँजी लगानीमा निर्माण जलविद्युत आयोजना निर्माण भएको हो ।
थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडले करिब एक अर्ब ५० करोड खर्चमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत आयोजनाको काम पूरा गरेको कम्पनीका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताए । आयोजनाको काम सम्पन्न भएसँगै गत १४ मंसिरदेखि परीक्षण उत्पादन सुरु गरिएको उनको भनाइ छ । “करिब दुई वर्षपछि आयोजनाको काम सकियो,” श्रेष्ठले भने, “मंसिर १४ बाट उत्पादन दिन थालेको छ ।”
आयोजना निर्माणका क्रममा स्थानीयले राम्रो रोजगारी पाएको राजापानीका स्थानीय प्रदीप दाहालले बताए । “आयोजनाले रोजगारीका लागि विदेसिनु पर्ने युुवाको बाध्यता थोरै भए पनि घटायो,” दाहालले भने, “विदेश जान छाडेर पनि युवाहरूले आयोजना निर्माणमा काम गरे ।”
कोरोनाका कारण हलेसी मन्दिर बन्द
खोटाङ, ६ माघ (कास)ः कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिन थालेसँगै त्रिधार्मिकस्थल हलेसी मन्दिर बन्द गरिएको छ । जिल्लामा दैनिक कोरोना संक्रमितको संख्या उकालो लागेसँगै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी मन्दिर बिहीबारबाट बन्द गरिएको हो ।
संक्रमण थप फैलिन नदिनका लागि मन्दिर बन्द गर्ने निर्णय भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए । राईका अनुसार दर्शनार्थीका लागि मन्दिर बन्द गरिए पनि मन्दिरमा साँझ बिहानको नित्य पूजा भने नियमित हुुनेछ ।
यसअघि कोरोनाको दोस्रो लहरमा बन्द गरिएको मन्दिर ८ महिना पछि गत भदौमा खोलिएको थियो ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा दैनिक सयौंको संख्यामा देश तथा विदेशबाट दर्शनार्थी आउने गरेका छन् । विशेषगरी सोमबार र शनिबार यहाँ दर्शनार्थी तथा पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
मन्दिर खुला हुँदा हरेक महिना १० लाख बढी भेटी संकलन हुने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राईले बताए । हलेसी गुफामा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरू आ–आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् । हिन्दु धर्ममा आस्था राख्नेहरूले यस स्थललाई पशुपतिनाथको रूपमा, बौद्ध धर्मावलम्बीहरूले दोस्रो लुम्बिनीको रूपमा र किराँत धर्मावलम्बीहरूले आदिम भूमिको रूपमा मान्ने गरेका छन् ।