Logo

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको भीड


जिल्ला प्रशासन कार्यालय लमजुङमा राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको छ । सरकारले राहादानी लिनका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरेसँगै सेवाग्राहीको भीड बढेको हो ।
जिल्ला प्रशासन कार्यालय लमजुङमा पछिल्लो सातादेखि राष्ट्रिय परिचय पत्र लिने सेवाग्राहीको भीड बढेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । दैनिक ७० भन्दा बढी सेवाग्राही राष्ट्रिय परिचय पत्र लिन आउने गरेको प्रजिअ वैद्यको भनाइ छ । यसअघि नागरिकता लिन आउने सेवाग्राहीलाई एकैसाथ राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने गरिए पनि पछिल्लो साता परिचय पत्रकै लागि मात्र आउने सेवाग्राही पनि बढेका छन् । सरकारले विद्युतीय राहदानी वितरण सुरु गरेसँगै त्यसका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भएपछि जिल्लामा परिचय पत्र बनाउने सेवाग्राही बढेको प्रशासनले जनाएको छ ।
यसअघि एउटा मात्रै विवरण दर्ता केन्द्र सुरु गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले अहिले सेवाग्राहीको चाप बढेपछि दुईवटा स्टेसनमार्फत सेवा दिएको जनाएको छ । दुईवटा स्टेसनबाट सेवा प्रवाह गर्दा पनि कार्यालयमा भ्याई नभ्याई भएको प्रजिअ वैद्यको भनाइ छ । सेवाग्राहीको चाप बढी भएर सेवा प्रवाहमा समस्या भएपछि थप दुईवटा स्टेसनका लागि पञ्जिकरण विभागमा पत्राचार गरिएको प्रजिअ वैद्यले बताए । “एक स्टेसनबाट दैनिक बढीमा २५ जनासम्मलाई सेवा प्रवाह गर्न सकिन्छ,” प्रजिअ वैद्यले भने, “सेवाग्राहीको संख्या दैनिक बढ्दो छ, थप व्यवस्थापनका निम्ति पञ्जिकरण विभागलाई अनुरोध गरेका छौँ ।”
पञ्जिकरण विभागबाट दुईवटा स्टेसन थप भएमा सेवा प्रवाहमा सहजता हुने प्रजिअ वैद्यले बताए । सरकारले गत वर्षबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेसँगै लमजुङमा पनि विवरण संकलन सुरु भएको थियो । राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने तथा फोटो खिचाउने काम सुरु भए पनि वितरण भने अहिलेसम्म हुन सकेको छैन । परिचय पत्र छपाइमा ढिलाइ हुँदा हालसम्म विवरण संकलन गरिएका कसैको पनि परिचय पत्र नआएको प्रशासनले जनाएको छ ।
तत्कालका लागि परिचय पत्र नआए पनि विवरण भरेर प्रविष्ट गरिसकेपछि सेवाग्राहीले राष्ट्रिय परिचय पत्र नम्बर भने पाउनसक्ने छन् । प्राप्त परिचय पत्र नम्बरको आधारमा राहदानी भर्न सकिने भएकाले पनि राहदानी लिने तयारी गरेका सेवाग्राही राष्ट्रिय परिचय पत्र लिनका लागि प्रशासन कार्यालय आउन थालेका हुन् ।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार हाल प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको राष्ट्रिय परिचय पत्र जिल्लाका सबै स्थानीय तह र वडाबाट सेवा प्रवाह गर्ने तयारी रहेको छ । देशका केही जिल्लामा सम्बन्धित वडामै उक्त सेवा प्रवाह सुरु भए पनि पहिलो चरणमा लमजुङ नपरेको प्रजिअ वैद्यले बताए ।
“जिल्लाका आठवटै स्थानीय तहका सबै वडामा घुम्ती शिविर गर्ने तयारी छ,” प्रजिअ वैद्यले भने, “कोरोना संक्रमणको तेस्रो लहरका कारण हालका लागि कार्यक्रम स्थगित भएको हो ।”
कोरोना संक्रमण जोखिम कम भएसँगै जिल्लाका सबै वडामा अभियानकै रूपमा राष्ट्रिय परिचय पत्र सेवा प्रवाह सुरु गरिने लमजुङ प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्