दूधमा अनुदान पाएपछि किसान उत्साहित

डेरीमा दूध बिक्री गर्दा पाउने मूल्यमा थप अनुदान रकम पाउने भएपछि सिन्धुपाल्चोक कुविण्डेका किसान उत्साहित भएका छन् ।
डेरीमा फ्याटको आधारमा पाउने मूल्यमा प्रतिलिटर ७ रुपैयाँ जोडेर आउन थालेपछि किसान उत्साहित भएका हुन् । यहाँका किसानले सहकारीमार्फत दूध बिक्री गरेवापत डीडीसीको दररेट भन्दा ७ रुपैयाँ थप रकम पाउने गरेकी स्थानिय लक्ष्मी सापकोटाले बताइन् ।
“डेरीमा दूध बिक्री गरेवापत बागमती प्रदेश सरकारले अनुदान स्वरुप प्रतिलिटर २ रुपैयाँ दिन्छ” उनी भन्छिन्, “किसानलाई प्रोत्याहनका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले समेत प्रतिलिटर ३ रुपैयाँ सहयोग गरेको छ ।” यसरी सहकारीले आर्जन गरेको मुनाफाबाट प्रदेश र स्थानीय सरकारको अनुदान स्वरुप ७ रुपैयाँ अनुदान प्राप्त हुने गरेको उनले बताइन् ।
यहाँका किसानबाट दूध संकलनका लागि दुई वठा दुग्ध सहकारी समेत सञ्चालनमा छन् । एउटै सहकारीले दैनिक दुई हजार लिटर भन्दा बढी दूध संकलन गर्ने गर्दछन् । संकलन गरिएका केही दूध सदरमुकाम चौतारा लगायत जिल्लाका खाडीचौर, सुकुटे, जलविरे बजारमा समेत लगेर खुद्रा मूल्यमा बिक्री गर्ने गरेको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका बजार व्यवस्थापक होमनाथ नेपालले बताए ।
“बजारमा बिक्री गरेर बाँकी रहेको दूध भने दुग्ध विकास संस्थान (डीडीसी) लाई पठाउने गरेका छौँ” उनले भने, “हामीले बिक्री गर्ने दूध बाक्लो र स्वादिलो छ” किसानसँग दूध संकलनदेखि उपभोक्ताको घरघरमा बिक्री वितरण गर्न सहकारीमा ८ जनाले रोजगारी पाएको उनले बताए ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पनि अहिले कृषिमै रमाउन थालेका छन् । विदेशमा दुःख गरेर कमाएको पैसा भन्दा परिवारसँग घर आगनमै कृषि गर्दा हुन आउने आम्दानी धेरै हुने भएकाले यहाँका युवाहरु कृषक बन्न रुचाउन थालेको स्थानीय इश्वरीप्रसाद स्वाँरले बताए ।