विद्युत अनियमितताले उपभोक्तालाई सास्ती «

विद्युत अनियमितताले उपभोक्तालाई सास्ती

पाँच वर्षअघि केन्द्रीय प्रसारणको पहुँच पुगेको रुकुम पश्चिमको विद्युत सेवा अनियमित हुँदा उपभेक्ताले समस्या झेल्दै आएका छन् ।
सल्यानको श्रीनगरदेखि विस्तार गर्न लागिएको केन्द्रीय प्रसारणको ३३ केभी भोल्टेजको काममा ढिलाइ हुँदा सेवा अनियमित भएको हो । जसका कारण कतिखेर बिजुली आउने र कति खेर जान्छ भन्ने कुनै टुंगो नभएको उपभेक्ताहरू गुनासो गर्दछन् । रुकुम खलंगाका जीतेन्द्र बुढाथोकीका अनुसार विद्युत अनियमित हुँदा मेसिनहरू जल्नेदेखि विभिन्न समस्या देखिने गरेको बताउँछन् । विद्युतको माग धेरै हुन गएर २४ सै घण्टा विद्युत उपलब्ध नभए पनि विद्युत आउने र जाने तालिका हुनुपर्ने उनको भनाइ छ ।
रुकुम पश्चिमको ६ वटै पालिकामा केन्द्रीय प्रसारणको विद्युत सेवा विस्तार भइसकेको छ । जिल्लाभार केन्द्रीय प्रसारणको पहुँचमा विद्युतीकरण गरिए पनि यहाँका १४ हजार बढी उपभोक्ता अनियमित विद्युतको मारमा छन् । अधिकांश समय विद्युत अनियमित बन्दा केन्द्रीय प्रसारणको पहुँचमा रहेका उपभोक्ताले बत्ती बाल्न नपाएको गुणासो गर्दै आएका छन् ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रुकुम पश्चिमले भने जिल्लाको धैरेनीचौरमा निर्माण भइसकेको ३ एमभीए क्षमताको सबस्टेसन चार्जका लागि भन्दै पटकपटक सूचना जारी गर्दै आइरहको छ । गत मंसिर १६ गते पहिलोपटक वितरण केन्द्रले सूचना जारी गरेर अहिलेसम्म सवस्टेसन चार्ज र विद्युत विस्तारको काम भइरहेको सूचना थप गर्दै आएको छ । तर हालसम्म सवस्टेसन नै चार्ज नभएको र ३३ केभी क्षमताको विद्युत विस्तारको काम भइरहेको वितरण केन्द्रका निमित्त प्रमुख होमबहादुर नेपालीको भनाइ छ ।
वितरण केन्द्रले हाल विद्युत सबस्ेटसन चार्जका लागि भन्दै जाजरकोटस्थित कुदु सबस्टेसनबाट रुकुम पश्चिममा विद्युत आपूर्ति गरेको छ । तर कम भोल्टेजका कारण अनियमित विद्युत सेवाबाट यहाँको इन्टरनेट, फोन तथा विभिन्न कार्यालय, उद्योग, कलकारखाना लगायतको काम प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्