अर्थतन्त्रले अर्को बन्दाबन्दी धान्न सक्दैन «

अर्थतन्त्रले अर्को बन्दाबन्दी धान्न सक्दैन

कोरोनाको तेस्रो लहरमा संक्रमणको दर बढ्ने क्रम जारी छ । पहिलो लहरमा त्रासको वातावरण भएका कारण समयभन्दा अगावै बन्दाबन्दी गरेर गरिएको गल्तीका कारण नागरिकको जीवन तथा जीविका दुवै सरकारले जोगाउन सकेन । लाखौंले नेपालीले जीविका गुमाए र हजारौंले जीवन गुमाए ।
जसका कारण दोस्रो लहरसम्म आइपुग्दा नागरिकमा पनि एक प्रकारको बेचैनी तथा छटपटाहट देखियो । पहिलो चरणको लामो बन्दाबन्दीले बिरामी बनाएको अर्थतन्त्र दोस्रो चरणको बन्दाबन्दीमा अस्पताल नै राख्नुपर्ने अवस्था आयो । ढिलै भए पनि सरकार तथा नेपाल राष्ट्र बैंकले केही औषधिमूलो गरेर अर्थतन्त्रलाई चलायमान बनाउने कोसिस गरे । दोस्रो लहरपछि बजारले आफैं गति दिन थाल्यो । हाल अलि–अलि चलायमान भएर तङ्ग्रिने अवस्थामा आइपुगेको अर्थतन्त्र फेरि तेस्रो बन्दाबन्दी होला कि भन्ने त्रासमा छ । यसपटक कोरोनाको भन्दा पनि बन्दाबन्दीको त्रासमा अर्थतन्त्र परेको छ ।
निजी क्षेत्रलाई सरकारले बन्दाबन्दी गरिदिन्छ कि भन्ने त्रास छ भने सरकार आफैं पनि बन्दाबन्दीको सोचमा नरहेको देखिन्छ । किनकि कोरोना महामारीका कारण पुनः बन्दाबन्दी गर्नुपरे मुलुक आर्थिक रूपमा चल्न नसक्ने सरकारले बुझेको छ । कोरोना महामारीका कारण पहिलो तथा दोस्रो बन्दाबन्दीमा बन्द रहेका १३ प्रतिशत पर्यटन तथा लघु घरेलु तथा साना उद्योग अझै चल्न सकेका छैनन् ।
त्यसैले पनि सरकारले तथा निजी क्षेत्रले बन्दाबन्दीको विकल्पका रूपमा कसरी सुरक्षित भएर काम गर्ने, उत्पादकत्व बढाउन तथा कामदारको सुरक्षा पनि साथसाथै हुने विकल्प के हुन सक्छ, त्यसमा विचार–विमर्श गर्न आवश्यक छ । कोरोना महामारी नियन्त्रणका लागि सुरक्षाका विविध उपायहरू कडाइका साथ लागू गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको कारण पनि अब निजी क्षेत्र र सरकारले हातेमालो गर्दै अगाडि बढ्नुको विकल्प छैन । किनकि बजार विस्तारै चलायमान हुन थाले पनि अर्थतन्त्रका सूचकहरू भने अझै सकारात्मक भइसकेका छैनन् ।
अर्थतन्त्रमा पछिल्ला दुई बन्दाबन्दीको प्रभावकै कारण उद्योगी–व्यवसायी पलायन हुने अवस्थामा छन् । चालू आर्थिक वर्षको सुरुवातदेखि नै रेमिट्यान्स घटिरहेको छ । अर्थविद्हरूको आशंका सत्य मान्ने हो भने पछिल्ला महिनाहरूमा हुन्डी पनि फस्टाएको छ । त्यसैले रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भिœयाउन बैंक–वित्तीय संस्थाले सामान्य ब्याजदरमा १ प्रतिशत थप दिएर प्रोत्साहन गरिरहेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले नेपालमा रेमिट्यान्स नपठाए मुलुक आर्थिक रूपमा चल्न सक्दैन ।
त्यसैले पनि रेमिट्यान्सलाई औपचारिक प्रणालीमा फर्काउन सरकारले विचार गर्नुपर्ने देखिन्छ । रेमिट्यान्स आउने क्रममा कमी तथा सरकारले पुँजीगत खर्च गर्न नसकेका कारण बजारमा लगानीयोग्य तरलताको कमी भइरहेको छ, जसका कारण कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिन थालेको भए पनि पछिल्लो समय बजारमा देखिएको तरलताको समस्याले अर्थतन्त्र ओरालो लाग्न थालेको छ । यसैगरी आयात बढिरहेका कारण विदेशी मुद्रा सञ्चितिमा समेत नकारात्मक असर पारिरहेको छ ।
एकातिर रेमिट्यान्स पनि घट्ने, अर्कातिर वैदेशिक मुद्राको स्रोत पर्यटन व्यवसाय पनि कोरोना महमारीका कारण ठप्प भएका कारण पनि विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर परेको हो । साथै, निर्यात बढे पनि आयात बढ्दा निर्यातबाट कमाएको विदेशी मुद्रा एउटै वस्तु आयात गर्न पनि नपुग्ने भएका कारण पनि विदेशी मुद्रा सञ्चितिमा असर परेको हो ।
नेपालले निर्यात गरेर कमाएको १ खर्बले पेट्रोलियम पदार्थ आयात गर्न पनि पुग्दैन भने स्वाभाविक रूपमा नेपालको वैदेशिक व्यापारमा समस्या छ भन्ने स्पष्ट छ । त्यसैले सरकार तथा निजी क्षेत्रले कोरोना महामारीमा अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्नेबारे विस्तृतमा नै छलफल गर्नुपर्ने देखिन्छ । दुई–तीन घण्टा बसेर छलफलमात्र गर्ने होइन कि सरकार तथा निजी क्षेत्रले समयबद्ध रूपमा केके गर्ने भनेर एकआपसमा गृहकार्य गरेर तत्काल कार्यान्वयनमा जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्