दशक पुग्दा पनि विद्युत् आयोजनाको काम १५ % मात्र

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१० मा निर्माणाधीन सहिद स्मृति लघुजलविद्युत् आयोजनाको काम एक दशक बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत २०६५ सालमा सुरु भएको उक्त योजनाको अहिलेसम्म १५ प्रतिशतमात्र काम भएको छ ।
९४ किलोवाट क्षमताको उक्त विद्युत् आयोजना सम्पन्न भएमा चौरजहारी नगरपालिका वडा नं. १०, ११ र १३ का १२ सय बढी घरधुरी लाभान्वित हुनेछन् । बजेट अभाव र समुदायको सहयोग नहुँदा प्रभावकारी काम हुन नसकेको उपभोक्ता समितिका निवर्तमान अध्यक्ष तथा नगरउपप्रमुख राधा रोकाले बताइन् । उनका अनुसार सम्बन्धित निकायले पनि बजेट नदिएको र समुदायले पनि लगानी गर्न नखोजेका कारण काम हुन नसकेको हो ।
विद्युत् आयोजना निर्माण गर्न १ करोडभन्दा बढी रकम लाग्ने र अहिलेसम्म जिविसबाट १० लाख र गाविसबाट ७ लाख ३० हजारमात्र लगानी भएकाले काम सम्पन्न हुन नसकेको उनको दाबी छ । “अहिले नगरपालिकाबाट ५० लाख बजेट परेको छ, अब नयाँ समिति गठन भएकाले समितिकै पहलमा काम सम्पन्न हुनेछ,” उनले भनिन् ।