आम्दानीको मुख्य स्रोत भैंसीपालन «

आम्दानीको मुख्य स्रोत भैंसीपालन


जुम्लाको हावापानीले बाह्रै महिना घरमा पशुपालन गर्न मुस्किल छ । ६ महिना लेकमा र ६ महिना बेसीमा राखेर गाई भैंसी पालन गरिन्छ । त्यसमाथि हिउँदको अत्यधिक चिसोसँगै चरण क्षेत्र र दानापानीको अभावले जुम्लामा बाह्रै महिना दुहुना गाई भैंसी पाल्न झन कठिनाइ छ ।
तर जुम्ला गुठिचौर ५ का विष्णु धितालले २६ वर्षदेखि गाउँमै व्यावसायिक भैंसी पालन गर्दै आएका छन् । चरण क्षेत्र, दानापानीको अभाव, हिउँको कठ्यांग्रिदो चिसोको सामना गर्दै धितालले २६ वर्षदेखि भैंसी पालन गर्दै आएका हुन् ।
सरकारी जागिरसमेत त्यागेर भैंसी पालनमा होमिएका धितालले हालसम्म करिब १ करोड भन्दाबढी लगानी गरिसकेका छन् । जुम्लामा बढ्दो दूधको मागलाई मध्यनजर गर्दै भैंसी पालन गरेका धिताल आजभोली दूध बेचेरै महिनामा ३० देखि ४० हजार कमाउँछन् भने महिनाको १ लाख बराबरको आर्थिक कारोबार गर्छन् ।
“२०५२ सालबाट भैंसी पालन सुरु गरेपनि २०६०÷०६१ सालबाट सरकारी जागिर नै त्यागेर व्यावसायिक भैंसी पालनमा होमिएको हुँ” धिताल भन्छन्, “जुम्लाको हावापानीमा हिउँदमा भगाई भैंसी पाल्न मुस्किल हुन्छ । जागिर छोडेपछि मुख्य आम्दानीको स्रोत नै भैंसीपालन हो ।”
घरको नुन तेलदेखि छोराछोरीको पढाई सबै दूध बचेरै चलेको छ । एक दिनमा ३५ देखि ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध बेचेर महिनाम ४० हजारसम्म खुद नाफा हुने गरेको धितालको भनाइ छ ।
“आधुनिक भैंसीगोठ निर्माण, पटक पटक दर्जन बढी दुहुना भैंसी खरिद, दानापानी व्यवस्थापन, घाँस काट्ने मेसिन, दूध ओसारपोसार गर्न मोटरसाइकल, फ्रिज, घर निर्माण, पिसाब संकलन ट्यांकी, पानी ट्यांकी लगायतका संरचना जोडेर भैंसी पालनमा एक करोड बढी लगानी भएको छ” उनले भने, “आम्दानी वर्षका १० देखि १५ लाखसम्म हुन्छ ।”
गाउँमा रोजगारी सृजना गर्ने, युवा उद्यमशीलतामा लगानी गर्ने नीति स्थानीय सरकारले लिएपनि अहिलेसम्म कुनै सहयोग नभएको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्