खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा पाउने «

खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले अनअराइभल भिसा पाउने


कोभिड खोपको मात्रा पूरा गरेका विदेशी नागरिकले नेपालमा अनअराइभल भिसा प्राप्त गर्ने भएका छन् । खोपको मात्रा पूरा गरेको १४ दिन पूरा गरेको प्रमाणपत्र र हवाई उडानमा चेकइन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गरी अनअराइभल भिसा प्रदान गरिनेछ ।
यसरी नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकले नेपालमा होटल बुक गरेको प्रमाण र कोभिड संकट व्यवस्थापन केन्द्रमा अन्तर्राष्ट्रिय ट्राभलर अनलाइन फारम भरेको हुनुपर्ने छ । नेपाल प्रवेश गर्ने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गराउनुपर्ने छ । त्यसरी परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसन वा अस्पतालमा पठाइनेछ । रिपोर्ट नेगेटिभ आएमा मात्र गन्तव्यमा जान दिदनेछ।
खोपको मात्रा पूरा नगरेकाहरुले विदेशस्थित नेपाली नियोगहरुबाट भिसा लिएर आउनुपर्ने छ । यसको लागि नेपालमा आगमन गर्ने कोभिड–१९ विरुद्धको खोप नलगाएको, खोपको मात्रा पूरा नगरेका र खोपको मात्रा पूरा गरेको १४ दिन नपुगेका कूटनीतिक नियोगका पदाधिकारीहरु तथा कर्मचारीहरु र तिनका परिवारका सदस्यहरुले विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट प्राप्त गरेको भिसा सहित नेपाल आउन चाहेमा नियोगले तोकेको स्थानमा कम्तिमा पाँच दिन क्वारेन्टिन बस्ने र सो कुराको अनुगमन सम्बन्धित नियोगले गर्ने शर्तमा आगमन अनुमति दिइने अध्यागमन विभागले जनाएको छ ।
पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि पेस गर्नुपर्ने छ । विदेशस्थित नेपाली नियोगबाट प्राप्त हुने भिसामा भने सम्बन्धित मुलुकमा रहेको वा सम्बन्धित मुलुकको लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर आउन सक्ने छन् ।
नेपालमा रहेका विदेशी नागरिकहरुले कोभिड–१९ को लक्षण देखिएमा नेपालस्थित अध्यागमन प्रवेश विन्दुमा एन्टिजेन परीक्षण गर्नुपर्ने छ । त्यस्तो परीक्षणबाट पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा र नेगेटिभ देखिएमा पाँच दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । अध्यागमन प्रवेश विन्दुमा एन्टिजेन परीक्षण हुन नसकेमा बस्ने होटलमा प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण गराउनुपर्ने छ । त्यसरी परीक्षण गर्दा पोजेटिभ देखिएमा अनिवार्य रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको आइसोलेसन वा अस्पतालमा र नेगेटिभ देखिएमा पाँच दिन होटलमा नै क्वारेन्टिनमा बस्नुपर्ने छ ।
होटल क्वारेन्टिनमा बसेका विदेशी नागरिकले छैटौं दिनमा कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र आफ्नो नेपाल भ्रमणको उद्देश्य बमोजिमको काममा संलग्न हुन पाउनेछ ।
कोभिड–१९ को परीक्षण गर्दा वा आइसोलेसनमा बस्दा लाग्ने खर्च र बिमा लगायतका अन्य खर्चहरु विदेशी नागरिक स्वयंले व्यहोर्नुपर्ने छ ।
त्यसैगरी नेपाल भ्रमणमा रहेका सबै विदेशी नागरिकले कोभिड–१९ को लक्षण देखिएमा तत्काल कोभिड–१९ को परीक्षण गराउनुपर्ने छ । रिपोर्ट पोजेटिभ आएमा आफ्नै खर्चमा आइसोलेसनमा बस्नुपर्ने छ ।
विदेशी नागरिकहरुले नेपालमा रहँदा सार्वजनिक स्थलमा उपस्थित हुँदा र सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउने, सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा खोप कार्ड देखाउने लगायतका स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने छ ।
खोपको मात्रा पूरा नगरेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकको नेपाल आवागमनका सम्बन्धमा पनि सोही नियम रहेको छ भने रिपोर्ट पोजेटिभ आएमा आइसोलेसन वा अस्पतालमा र नेगेटिभ आएमा ५ दिनसम्म होम वा होटल क्वारेन्टिनमा बस्ने गरी जान दिइनेछ ।
स्थलमार्गबाट नेपालमा प्रवेश गर्ने विदेशी नागरिकहरुले पनि तोकिएका कागजातको आधारमा नेपाल प्रवेश गर्ने अनुमति दिइनेछ । यसरी आगमन हुने भारतीय नागरिकहरुलाई कोभिड–१९ को लक्षण वा चिन्ह देखिएमा नेपाल प्रवेश गर्ने अध्यागमन विन्दुमा एन्टिजेन परीक्षण गराउनुपर्ने छ । त्यसरी परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएमा मात्र नेपाल प्रवेशका लागि अनुमति दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्