Logo

४१ किमि ग्रामीण सडक कालोपत्रे हुँदै


खोटाङको जन्तेढुंगा गाउँपालिकामा ४१ किलोमिटर ग्रामीण सडक कालोपत्रे हुने भएको छ । वराहपोखरी गाउँपालिकाको बङ्सिलादेखि जन्तेढुंगाको देविस्थान, चिसापानी हुँदै खोटेहाङ गाउँपालिकासम्मको सडक एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा कालोपत्रे हुन लागेको हो ।
जिल्लाका विकटमध्येको एक मानिने जन्तेढुंगा गाउँपालिकामा सडकको ट्रयाक खोलिए पनि बर्खाको समयमा सवारी साधन ठप्प हुने गरेको छ । गाउँपालिकाको दुई वर्षदेखिको पहलमा सडक कालोपत्रे हुन लागेको गाउँपालिकाका रोजगार संयोजक विज्ञान राईले बताए । ट्रयाक खोलिसकिएको उक्त सडकलाई स्तरोन्नति गर्दै कालोपत्रे हुने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । अबको एक महिनाभित्रमा ठेक्का प्रक्रिया टुंगिने र काम सुरु हुने उनको भनाइ छ ।
प्रतिकिलोमिटर ७ करोड लागत लाग्ने गरी तयार भएको डीपीआर अनुसार जम्मा ४१ किलोमिटर सडक कालोपत्रे गर्न तीन अर्ब लागत अनुमान गरिएको छ ।

सुनकोसी नदीमा पक्की पुल
छिमेकी जिल्ला उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीको फेदीमा पक्की पुल निर्माण पनि एडीबीले गर्ने गरी सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।
सुनकोसी नदीमा पुल निर्माणसँगै सडक पनि कालोपत्रे हुने भएपछि स्थानीय नागरिक हर्षित भएका छन् । तराईसँग बाह्रै महिना सडक सञ्जालले जोडिएपछि दैनिक उपभोग्य सामानको मूल्य घट्नुका साथै यात्रा गर्न सहज हुने स्थानीय महेन्द्र राईले बताए । अर्का स्थानीय बालकुमार खड्काले सडक कालोपत्रे भएपछि बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने भएकाले अकालमा ज्यान गुमाउनुपर्ने स्थानीयको समस्या समाधान हुने बताए ।
उक्त सडक कालोपत्रे हुँदा जन्तेढुंगा गाउँपालिकासँगै वराहपोखरी, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्