वृद्धवृद्धा र अशक्तलाई वडामै सुरक्षा भत्ता

कर्मचारीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको पाइएपछि बैंकमार्फत भुक्तानी थालेको साकेला गाउँपालिकाले लक्षित वर्गलाई सम्बन्धित वडामै भत्ता उपलब्ध गराएको छ ।
नेपाल एसबीआई बैंक साकेला शाखासँगको सहकार्यमा गाउँपालिकाले भत्ता निकासा गरेर ७० वर्षमाथिका वृद्धवृद्धा र अशक्त नागिरकलाई सम्बन्धित वडा कार्यालयमै शिविरमार्फत भत्ता वितरण गरेको हो । २८ पुुसबाट भुक्तानी शिविर आयोजना गरेर चालू आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो त्रैमासको सुरक्षा भत्ता वितरण थालेको गाउँपालिकाले जनस्वास्थ्यका मापदण्ड अपनाउँदै बुधबार पाँच वटै वडाका लक्षित वर्गलाई भत्ता वितरण सम्पन्न गरेको छ ।
गाउँपालिकाका एमआईएस अपरेटर डीएम चाम्लिङका अनुसार २८ पुसमा वडा नं. १ को कार्यालय बाँझेच्यानडाँडामा आयोजित भुक्तानी शिविरमा ७३ जना र २९ गते १ नं. वडा बााँझेच्यानडाँडाकै चण्डेश्वरी आधारभूत विद्यालयमा आयोजित शिविरमा ७४ जना वृद्धवृद्धा तथा अशक्त नागरिकले भत्ता बुझेका छन् ।
यस्तै २ माघमा २ नं. वडा कार्यालय रतन्छामा आयोजित शिविरमा १ सय ७ जना, ३ माघमा ३ नं. वडा कार्यालय खिदिमामा ७६ जना, ४ माघमा ४ नं. वडा कार्यालय मात्तिममा ५७ जना र शिविरको अन्तिम दिन ५ माघमा बुधबार ५ नं. वडा कार्यालय मात्तिमबिर्तामा ७९ जना वृद्धवृद्धा तथा अशक्त नागरिकले सामाजिक सुरक्षावापतको भत्ता बुझेका छन् । आफू बसोबास गरिरहेकै वडामा सुरक्षा भत्ता पाउँदा बैंकसम्म पुग्नुपर्ने कठिनाइबाट अशक्त तथा वृद्धवृद्धाले राहत पाएका छन् ।
यसरी भत्ता लिनका लागि गाउँपालिकाले नेपाल एसबीआई बैंकले प्रदान गरेको चेक र ल्याप्चे कार्डको फोटोकपी, वडा कार्यालयले प्रदान गरेको सामाजिक सुरक्षा भत्ता नवीकरण कार्ड र नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य गरेको थियो । शिविरबाट भत्ता बुझ्न छुटेकाले नेपाल एसबीआई बैंकको जुनसुकै शाखाबाट भत्तावापतको रकम लिन सक्ने गाउँपालिकाले जनाएको छ ।
सुुरक्षा भत्ता भुक्तानी शिविरकै क्रममा गाउँपालिकाको महिला विकास शाखाले ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सहायता सामग्री लठ्ठी पनि प्रदान गरेको छ । जिल्लाका अन्य पालिकाले बैंकमार्फत सुुरक्षा भत्ता वितरण गरे पनि वडामै भुक्तानी गर्ने व्यवस्था भने गरेका छैनन् ।