किवी खेतीमा रमाउँदै पोखरेल दम्पती

नयाँ खेती सुरु गर्दा अनुभव, ज्ञान र दक्षता हुँदैन । खेती सुरु गर्दैगर्दा आफ्नो लागनी माटोमै खेर जान्छ या राम्रो आम्दानी हुन्छ त्यो कुनै भर छैन ।
तेह्रथुम लालीगुराँस नगरपालिका ९ सोल्माका देवीप्रसाद पोखरेलले ७ वषअघि किवी खेती सुरुवात गरेका थिए । उनले टेलिभिजनमा किवी खेती सम्बन्धी कार्यक्रम हेरेकै भरमा सुरुवात गरेका हुन् । सुरुका दिनमा आम्दानी लिन सकिन्छ की भन्ने भरै थिएन । आफूले सुरु गरेको खेतीबाट कसरी उत्पादन गर्ने भन्ने उनलाई चिन्ता थियो । छिमेकी जिल्ला इलामबाट दुई सय किवीको नर्सरी ल्याएर खेतीयोग्य जमिनमा उनले खेती सुरु गरेका थिए ।
पोखरेलले बगानमा लगाएको बिरुवाको हेरचाहमा राती अबेरसम्म बिताउँथे । परम्परागत खेतीभन्दा नयाँ खेती सुरु गरेका उनलाई नगदेबालीबाट आम्दानी लिन सकिन्छ भन्ने मनमा ढुक्क थिए । उनी भन्छन्, “मैले खेती सुरु गर्दै गर्दा गाउँलेहरुले बौलायो भने । यती राम्रो अन्न फल्ने ठाउँमा केको सिन्का रोपेको भन्दै उडाउने पनि थिए ।”
२०७१ सालमा सुरु गरेका पोखरेलले किवी बिक्रीबाट मात्रै वार्षिक ३ लाख बढी आम्दानी लिँदै आएका छन् । घरकै नजिक रहेको बगानमा उनले बिहान बेलुकी र फुर्सदको समयमा किवी हेरचाह नै सयम बिताउने गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आम्दानी हुने भएकाले उनी किवी खेतीबाट सन्तुष्ट रहेको बताउँछन् । “मैले खेती सुरुवात गरेको तीन वर्षदेखि उत्पादन सुरु भयो चार वर्षमा बजारमा पु¥याएँ । अहिले बजार राम्रो छ फोनबाटै माग आउँछ । मागअनुसार उत्पादन गर्न सकेको छैन” उनी भन्छन्, “बगानलाई अझ बिस्तार गर्दै जाने सोचमा छु ।”
जिल्लाकै उत्कृष्ट किसानको रुपमा उनको परिचय बनेका छ । उनकी श्रीमती तिला पोख्रेल लालिगुराँस नगरपालिकाको उपप्रमुख हुन् । श्रीमानले सुरु गरेको खेतीमा तिलाले पनि साथ दिँदै आएकी छिन् । नागरिकहरुको सेवा नै ब्यस्त रहेकी उनी फुर्सदको समय बगानमा श्रीमानलाई सघाँछिन् ।