हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा : सञ्चालनमा अन्योल «

हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा : सञ्चालनमा अन्योल


कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणकार्य अन्तिम चरणमा पुगेको हो । नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निर्माणकार्य अन्तिम चरण्मा पुगेको जनाएको छ ।
कम्पनीका अनुसार हाल बेड फिटिङको कार्य चलिरहेको छ ।
“निमार्ण गरिने भनिएको होल्डिङ सेन्टरको भवन निर्माणकार्य सकिएको अवस्था छ, यस्तै गरेर भवनको अन्य संरचनाको पनि लगभग काम सकिएको छ,” हनुमान कन्स्ट्रक्सन प्रालिका साइट इन्चार्ज लक्ष्मण सापकोटाले भने, “तीन सय वटा बेड तयारी भएका छन् हामीले एक साता भित्रमा थप दुई सय बेड तयार पार्ने योजना बनाएका छौं यसैगरी होल्डिङ सेन्टरमा खानेपानी जडान गर्ने कार्य पनि सम्पन्न भएको अवस्था छ ।”
कम्पनीले होल्डिङ सेन्टरमा विद्युत आपूर्तिका लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ । होल्डिङ सेन्टरको नब्बे प्रतिशतभन्दा बढी प्रगति भएको सापकोटाले बताए । सेनाको श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निर्माणकार्य हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निर्माण कार्य ढिलासुस्ती अथवा निर्माणको कुरामा सेनाले विशेष ध्यान दिएर निर्माण कार्यलाई सहजता गर्ने गरेको बाहिनीले जनाएको छ । २९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे १५ करोड रुपैयाँ भुक्तानी लिएको अवस्था छ ।
“होल्डिङ सेन्टर निर्माणमा १५ करोड ४३ लाख रुपैयाँ कम्पनीले भुक्तानी लिएको छ, बाँकी भुक्तानीका लागि कम्पनीले १० करोडको बिल पेस गरेको छ ।”
तीन बिगाहा क्षेत्रफलमा निर्माण भएको स्थायी होल्डिङ सेन्टरको २२ वटा अलग अलग ब्लक निर्माण भएका छन् । निर्माण भएका सबै ब्लकमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतका सेवासुविधा सहित होल्डिङ सेन्टर निर्माण भएको छ । संरचनागत भवन सबै निर्माण भएको र खाली फिटिङको काममात्रै बाँकी छ । पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाइ भएको ठेकेदार कम्पनीले जनाएको छ । कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गर्दै निर्माण सुरु गरिएको होल्डिङ सेन्टर अबको केही समयभित्रै सेन्टरको निर्माणकार्य सम्पन्न गर्ने समेत ठेकेदार कम्पनीले जनाएको छ ।
नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेरमात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निर्णयले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा दुई गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी तथा काठमाडौं उपत्यकामा दुई ठाउँमा संरचना बनाउने निर्णय गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयबमोजिम नै कञ्चनपुरमा पनि होल्डिङ सेन्टर निर्माण भएकोे हो ।

सञ्चालनमा र व्यवस्थापनमा अन्योल
निर्माणकार्य अन्तिम चरणमा रहेको होल्डिङ सेन्टरको निर्माण सम्पन्न भएपछि भने सञ्चालन कसरी गर्ने भन्ने अन्योलता भएको छ । झण्डै ९० प्रतिशतभन्दा कार्य प्रगति भएको होल्डिङ सेन्टरको ३ सय बेड तयारी अवस्थामा छन् । जिल्लाभर अहिले कोरोना संक्रमण दर बढिरहेको छ । जिल्लाको एकमात्र महाकाली अस्पतालमा निदानुदिन संक्रमित केश बढिरहेको अवस्था छ । भारतसँग खुल्ला सिमाना भएको जिल्ला भएकाले प्रत्येक दिन सयौंको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ । निमार्णको चरणमा रहेको होल्डिङ सेन्टरलाई सेनाको श्री नम्बर २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले हेरिरहेको छ । तर सम्पन्न होल्डिङ सेन्टर सम्पन्न पछाडि पनि नेपाली सेनाले या कसले कसरी सञ्चालन गर्ने विषय भने स्पस्ट रुपमा तय नहुँदा सञ्चालनमा अन्योलता छाएको छ । यता जिल्ला प्रशासन कार्यालयले भने नेपाल सरकारको माघ २ गतेको निर्णयअनुसार प्रदेश सरकारले सञ्चालन र व्यवस्थापन गर्ने भन्ने आदेश आएको जानकारी दिएको छ ।
“होल्डिङ सेन्टर कसले सञ्चालन गर्ने र व्यवस्थापन कसरी भन्ने विषयमा हामीले पनि नेपाल सरकारसँग अनुरोध गरेको अवस्था थियो,” प्रमुख जिल्ला अधिकारीले भने, “अहिले नेपाल सरकारले यही माघ २ गते निर्णय गरेर प्रदेश सरकारबाट यसको व्यवस्थापन र सञ्चालन गर्ने निर्णय गरेर सञ्चालन गर्ने गरी आदेश भएको छ, आदेशबमोजिम प्रदेशबाट सञ्चालन तथा व्यवस्थापन हुनेछ ।” हामीलाई सञ्चालन गर्नका लागि ३ सय बेड तयारी अवस्थामा रहेको भन्दै उनले कोरोना महामारी नियन्त्रणमा होल्डिङ सेन्टरले सहज गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्