घोर्थली–कालिञ्चोक सडक निर्माण

सिन्धुुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ को घोर्थली हुँदै दोलखामा अवस्थित कालिञ्चोक जोड्ने ३० किलोमिटर सडक निर्माण भएको छ । प्रदेश सरकारको सुरुवाति ४० लाख रुपैयाँ बजेटमा जिल्लाको दुर्गम मानिने घोर्थली गाउँबाट कुरि बजारसम्म पर्यटकीय सडक जोडिएको हो ।
पर्यटन प्रवद्र्धनका लागि घोर्थली–कालिञ्चोक सडकले जोडेपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरका स्थानीय उत्साहित भएका छन् । निर्माण सकिएको सुरुवाति दिनदेखि नयाँ ट्रयाक दोलखा र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमामा पुगेको छ । भर्खरै जोडिएको नयाँ सडक हुँदै घोर्थलीकै ३० जना स्थानीय कालिञ्चोक दर्शनका लागि कुरि बजार पुगेको त्रिपुरासुन्दरी गाउँपालिका–१ का ८५ वर्षीय वडाध्यक्ष कर्णबहादुर खड्काले बताए । “यो सडकले सिन्धु र दोलखा दुई जिल्लालाई मात्र होइन यसले पर्यटनलाई जोडेकोे छ,” उनले भने, “यसले आन्तरिक र बाह्य पर्यटकलाई पनि आकर्षित गर्नेछ ।” छोटो ३० किलोमिटरको दूरीमा जोडिएको उक्त सडकले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने खड्काले बताए ।
जिल्लाकै प्रसिद्ध मन्दिर लट्टेश्वर महादेव, पिस्कर गाउँ (पिस्कर हत्याकाण्ड मच्चिएको राजनीतिक इतिहास बोकेको ठाउँ), सहिद इलेविरे थामीको शालिकस्थल, थामी संग्राहलयजस्ता महत्वपूर्ण स्थानसँंग कालिञ्चोकलाई जोड्ने योजना रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ । दोलखा र त्रिपुरासुन्दरीको सीमाभेग यताको चौरमा विभिन्न समुदाय संस्कृति झल्कने होमस्टे, होटल, रिसोर्ट बनाइने र त्यसका लागि धेरै व्यवसायी तयार रहेको त्रिपुरासुन्दरी गाउँपालिका–३ का अध्यक्ष शुकदेव रिसालले बताए । “खाडीचौरबाट भन्दा कुरि जान यो बाटो धेरै कम दूरीमा पर्ने भएकाले छिटै पुगिन्छ,” उनले भने, “यहाँ हिउँ खेल्नेसँगै तीर्थस्थल र महत्वपूर्ण पर्यटकीयस्थान हेर्दै कालिञ्चोक मन्दिर पुग्न सकिन्छ ।” यो सडकलाई दीर्घकालीन रूपमा प्रयोग गरी यसको संरक्षण गर्नसके पर्यटकलाई कालिञ्चोक पुग्न छिटो र कम समय लाग्ने अध्यक्ष रिसालले बताए ।