जनशक्ति अभावमा दुई वर्षदेखि भेन्टिलेटर अलपत्र

लमजुङ-जिल्ला अस्पताल लमजुङमा भेन्टिलेटर सहित सघन उपचार कक्ष (आईसिसियु) सञ्चालनका लागि ल्याएको उपकरण दुई वर्षदेखि अलपत्र परेको छ । कोरोना संक्रमण शुरु भएसँगै तत्कालिन आवश्यकतालाई मध्यनजर गरी ल्याइएको भेन्टिलेटर सहितको आईसियु उपकरण कोरोना तेश्रो लहर शुरु हुँदासम्म पनि शुरु हुन नसकेको हो ।
आवश्यक जनशक्ति नहुँदा भेन्टिलेटर सहित सघन उपचार कक्ष सञ्चालनका गर्न नसकिएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६-०७७ मै बजेट प्राप्त भएपनि आर्थिक वर्ष ०७७-७८ को दोश्रो चौमासिकमा आवश्यक उपकरण आइपुगेको थियो । उपकरण ल्याइसकेको दुई वर्ष वित्दापनि आवश्यक जनशक्ति नहुँदा हालसम्म सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ ।
आईसिसियु कक्ष सञ्चालनको निम्ती प्रदेश सरकारले आर्थिक वर्ष ०७६-०७७ मा एक करोड ६९ लाख १९ हजार रुपैया उपलब्ध गराएको थियो । तर विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै तत्कालिन लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भएको थियो । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याएर जडान गरिएपनि हालसम्म दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।
तत्कालिन समयमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई सोहि आर्थिक वर्षभित्रै आईसिसियु कक्ष सञ्चालन गर्ने तयारी भएपनि अपेक्षित काम हुन सकेको थिएन । गत वर्ष दोश्रो चरणको कोरोना संक्रमणको जोखिम बढेसँगै भेन्टिलेटर सहितको आईसियु कक्ष सञ्चालन गर्ने प्रयास गरेपनि जनशक्ति अभावकै कारण सञ्चालन गर्न नसकिएको अस्पताल प्रमुख श्रेष्ठको भनाई छ । भेन्टिलेटर सञ्चालनको लागि प्रदेश सरकार र अस्पताल मार्फत पटक पटक जनशक्ति माग गरिए पनि हालसम्म नआएको अस्पतालले जनाएको छ ।
अस्पतालमा भेन्टिलेटर सहित पाँचवटा आईसियु कक्ष सञ्चालन गर्ने तयारी गरिए पनि दुईवटा भेन्टिलेटर मात्र जडान गरिएका छन् । भेन्टिलेटर सहितको आईसियु कक्ष सञ्चालनको लागि आवश्यक प्रक्रिया र उपकरण भए पनि जनशक्ति नभएको अस्पताल प्रशासनले जनाएको छ । भेन्टिलेटर सहितको आईसियु सञ्चालनका लागि सम्वन्धीत विषयमा तालिमप्राप्त स्वास्थ्यकर्मी र सहयोगी चाहिने भन्दै अस्पताल भित्र उक्त तालिम लिएका जनशक्ति नभएको र बाहिरबाट पनि हालसम्म कोहि नपठाईएको अस्पतालको भनाइ छ ।
आईसिसियु कक्ष सञ्चालनका लागि अस्पतालले हाल इमरजेन्जी सेवा प्रवाह भइरहेको नयाँ भवनको दोश्रो तला प्रयोगमा ल्याएको छ । अस्पतालमा आईसिसियु कक्ष नहुँदा आकस्मिक र गम्भीर प्रकृतिका विरामी उपचारमा समस्या हुँदै आएको छ ।