Logo

विप्लव नेतृत्वको नेकपाले थाल्यो खोटाङमा कृषि अभियान

खोटाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले खोटाङमा कृषि अभियान थालेको छ । उत्पादनलाई जोड दिने पार्टीको नीतिअनुसार पार्टीका नेता कार्यकर्ताले जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पामा आलु खेती सुरु गरेका हुन् ।
कृषिबाटै देशमा समृद्धि सम्भव रहेको सन्देश प्रवाह गर्न कृषि उत्पादन थालिएको पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संघ खोटाङ, भोजपुर र सोलुखुम्बु तीन जिल्लाका इञ्चार्ज निराजन किरातीले बताए ।
दोर्पास्थित एकराज बुढाथोकीको दुई रोपनी जग्गामा आलु खेती सुरु गरेको पार्टीले सोही नगरपालिका–९ निर्मलीडाँडामा पनि केही दिनपछि आलु लागाउने जनाएको छ ।
रावाबेसी गाउँपालिकामा धान खेती र ऐँसेलुखर्क गाउँपालिकमा माछा पालन गर्ने योजनासमेत बनाइएको किराँतीको भनाइ छ ।
‘नेपाल कृषि प्रधान देश भएर पनि देशलाई पुग्दो खाद्यान्न उत्पादन हुन सकेको छैन’ राईले भने, ‘अर्कातिर युवा बिदेसिने समस्याले जमिन बाँझिने समस्या बढ्दो छ । मेहनत गर्ने हो भने देशमै कृषिबाट आर्थिक क्रान्ति सम्भव छ भन्ने सन्देश दिन यो अभियान थालेका हौं ।’

प्रतिक्रिया दिनुहोस्