पीएम कप क्रिकेटको उपाधि एपीएफलाई «

पीएम कप क्रिकेटको उपाधि एपीएफलाई

पहिलो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेटको उपाधि एपीएफले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टिम पुलिसलाई २१ रनले हराएर उपाधि जितेको हो ।
बुधबारको खेलमा दुवै टिमले राम्रो सुरुआत गर्न सकेनन् । एपीएफको टप अर्डर ब्याटिङमा पनि लोकेश बमबाहेक अन्य खेलाडी राम्रोसँग चल्न सकेनन् । एपीएफका लोकेशले २७ रन बनाएका थिए । अघिल्लो दिनको सेमिफाइनल खेलमा १५० रनको साझेदारी गरेका प्रदिप ऐरी र आशिफ शेखले बुधबार १२ रनको मात्र साझेदारी गर्न सके ।
दोस्रो ओभरको दोस्रो बलमै गुल्सनल झाको बलबाट आशिफ आउट हुँदा उनले ९ रन मात्र जोड्न सके । तेस्रो नम्बरमै मैदान प्रवेश गरेका लोकेश बमले तीन छक्का र एक चौका प्रहार गरे । त्यस्तै, दीपक बोहराले ६ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान दिए । पहिलो बलमै दीपेन्द्र सिंह ऐरीको बलबाट पुरन बिके आउट भएपछि कप्तान सरद भेषावकर ब्याटिङका लागि मैदान छिरेका थिए । खेलमा ४३ रनमा दुई विकेट गिरेको अवस्थाबाट धरमराएको एपीएफलाई कप्तान भेषावकरले केही लामो साझेदारीका लागि सहयोग गरे ।
प्रतियोगिताका विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताए । मन्त्री शर्माले खेलाडीले मेहनत गरे अनुसार पूर्वाधार र खेलाडीको सेवा सुविधा नभएको स्वीकार गरे । अर्थमन्त्री शर्माले पछिल्लो समय नेपालमा क्रिकेटमा आकर्षण बढ्दै गएको र आकर्षण अनुसार नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्टता प्रस्तुत गर्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्