Logo

पीसीआर परीक्षणको शुल्क घट्यो


सरकारले कोरोना भाइरसको संक्रमण परीक्षणका लागि गरिने पीसीआर शुल्क घटाएको छ । अब सरकारी अस्पतालमा आठ सय र निजी अस्पतालमा १५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्न सकिने भएको छ ।
यसअघि कोरोना परीक्षण शुल्क सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार रुपैयाँ रहेको थियो । सरकारले परीक्षण शुल्क घटाउनका लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले सरकारीमा आठ सय र निजी अस्पतालमा १५ सय सम्म बनाउन सकिने सुझाएको थियो । उक्त सुझावका आधारमा सरकारले बुधबार पीसीआर शुल्क घटाएको हो ।
यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परीषण गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन परीषण गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्