नेपाली नागरिकको जमिन भारतीय कब्जामा «

नेपाली नागरिकको जमिन भारतीय कब्जामा

कञ्चनपुरको पुनर्वास नगरपालिका–४ का करनबहादुर सुनारको हातमा नेपाल सरकारको लालपुर्जा छ, जग्गा पनि छ तर उपभोग गर्न नपाएको १७ वर्ष भइसक्यो ।
“२०५८ सालको कुरा हो खेतमा लामालामा धानका बाला झुलेका थिए भारतीय प्रहरी आएर पूरै खेती काटिदियो,” जग्गाधनी करन सुनारले भने, “त्यो बेलादेखि त्यहाँ खेती गर्न पाएका छैनौं, खेतमा खनजोत गर्न जाँदा एसएसबी आएर पक्राउ गरेर लग्छ ।”
भारतीय प्रहरी नेपालभित्रै छिरेर नेपाली भूमि भारतको हो भनी दाबी गर्दासमेत नेपाल सरकार मौन छ । १७ वर्षदेखि आफ्नो जमिन भारतको कब्जामा रहेकाले छुटाइदिन विभिन्न निकाय सामु हारगुहार गर्दा पनि कतैबाट सुनुवाइ नभएको करन सुनारले बताए । उनले लिखित रूपमा काठमाडांै पुगेर प्रधानमन्त्रीमन्त्रीलाई जानकारी गराइसकेको बताए । सुनारले भने, “हामीले नेपाल सरकारलाई कर तिरिरहेका छांै, लालपुर्जा हातमा छ, जमिन भारतको कब्जामा, २०५८ सालमा राजा धनगढीमा आएको बेला मैले लिखित कागज राजाको हातमा दिएको हुँ केही सुनुवाइ भएन ।”
२०३१ सालदेखि यहाँ बसोबास गरिरहेका ६९ वर्षीय मानबहादुर सुनारले ९९ नम्बरको पिल्लर गायब हँुदा सिमामा किचलो भइरहेको बताए । उनले भने, “एसएसबीले धान काटेर लग्यो हामी खुकुरी लगेर गयांै, गोली ठोक्ने डरले हामी पारि जान सकेनौं ।”
वृद्ध मानबहादुर सुनारले भने, “जुन ठाउँमा अहिले भारतीय एसएसबीको पोस्ट छ, त्यो ठाउँ पनि नेपालकै हो, त्यहाँ कुटिया थियो, भारतीय आएर त्यहाँ बस्ने जोगीलाई भगाए अहिले त्यसैमा भारतीय प्रहरीको पोस्ट छ ।” “भारतले हाम्रो सीमा मिच्दै छ हाम्रा कोही नेता बोल्दैनन्,” सुनारले भने, “हामीले हेर्दाहेर्दै वनवासाको पुल भारतले लग्यो अब हेर्दाहेर्दै लालपुर्जा भएको जमिन कब्जा गरिसक्यो ।”
सीमा विवादकै कारण नेपाल–भारत सीमा क्षेत्रमा पर्नेे आनन्द बजारनजिक कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमको ज्यान गएको थियो । पुनर्वासका स्थानीय गोविन्द गौतम भारतीय प्रहरीको गोली लागेर सहिद भएपछि नेपाल सरकारका प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म पुनर्वास पुगेर आश्वासनमात्रै दिएर फर्के । “वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली पनि यहाँ आएर आश्वासन दिएर गए । तर फर्केर कहिल्यै हेरेनन्,” पुनर्वास नगरपालिकाका स्थानीयले गुनासो गरे ।
सीमास्तम्भ नभए पनि भारतले कल्भर्टनजिक रहेको सिमलको रुख सीमास्तम्भको रूपमा लिने गरेको स्थानीयको भनाइ छ । अहिले एसएसबीले बनाएको क्याम्पबाट दुई सय मिटर दक्षिणतर्फ पुरानो बाटो रहेको दाबी गर्दै नेपालको भूमिमा एसएसबीको क्याम्प रहेको स्थानीयो दाबी छ ।

सीमामा क्षेत्रमा कसले फाल्यो पिल्लर ?
भारतले आफूलाई निर्दोष सावित गर्न विवादित क्षेत्रलाई आफ्नो भूमिमा पार्ने कसरतमा लागेको जानकारहरूको भनाइ छ । सिमानाको विषयमा आफ्नै पक्षको गोलीले नेपालीको ज्यान गएपछि अन्तर्राष्ट्रिय रूपमै भएको आलोचनाबाट जोगिन भारतले अहिले सो क्षेत्रलाई आफ्नो भूमिमा पार्न चलखेल गरिरहेको हुनसक्ने स्रोतले बतायो ।
सीमा क्षेत्रमा ठाउँ–ठाउँमा भारतले ‘टी’ आकारका पिलर फालेको छ । यी पिल्लर कसले कहाँबाट फाल्यो भन्ने सीमा सुरक्षाका लागि खटिएको सशस्त्र बललाई समेत जानकारी छैन । यस विषयमा भारतीय सुरक्षाकर्मी र पिल्लरबारे आफूहरूलाई कुनै जानकारी नभएको र वन कार्यालयले पिल्लर फालेको हुनसक्ने बताउँदै आएको स्रोतको भनाइ छ ।
भारतीय पक्षले सीमा क्षेत्रमा राखेको ‘टी’ आकारका पिल्लरका बारेमा आफूहरूलाई कुनै जानकारी नभएको ३५ नम्बर गण सशस्त्र प्रहरी बल प्रमुख विनोद श्रेष्ठले बताए । उनले भने, “ठाउँठाउँमा सीमा विवाद छ, तत्कालै पिल्लर फाल्दिने छैन, एक साता अगाडि हाम्रो टोली पुनर्वासको बोडरमा गस्ती गरेर आएको छ ।” उनले अहिले संयुक्त सीमा सर्भे टोली फिल्डमै काम गरिहेको बताए ।
भारतीय कब्जामा रहेको करनबहादुर सुनारको जग्गाको लालपुर्जा । तस्बिर ः कारोबार

प्रतिक्रिया दिनुहोस्