साना तथा मझौला उद्यम विकास समझदारी

देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) बीच सम्झौता भएको छ ।
समझदारीपत्रमा कर्मभूमि समाजको तर्फबाट अध्यक्ष विनोद चौधरी र सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बेरोजगार युवा तथा महिला, आर्थिक जोखिममा रहेका तथा सीमान्तकृत समुदाय, वैदेशिक रोजगारबाट फर्केका नेपाली तथा उद्यमशील बन्न चाहाने र सम्भावना बोकेका क्षेत्रमा नयाँ उद्यम स्थापना गर्न चाहाने सबैलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
कर्मभूमि समाजले उद्यमशील बन्न आकांक्षीहरूलाई व्यवसाय दर्ता, सम्भाव्य परियोजना सम्बन्धी सोच प्रदान गर्दै त्यस्ता परियोजनालाई बैंक तथा वित्तीय संस्था मार्फत सहुलियत ऋणका लागि प्रस्ताव तयार गर्न सहयोग गर्ने र सिबिफिनले त्यस्ता योग्य प्रस्तावलाई सहज वित्तीय पहुँचका लागि पहल गर्ने समझदारी भएको छ ।
स्थानीयस्तरबाट छनौट हुने यस्ता परियोजना कर्मभूमि समाज र सिबिफिनले स्थानीय गाउँपालिका वा नगरपालिकाहरुको सहकार्य र समन्वयमा कार्यान्वयन गराउने समझदारीपत्रमा उल्लेख छ ।
कर्मभूमि समाजले स्थानीय तहमा सञ्चालन गरिने उद्यमी प्रशिक्षण तथा सीप विकास तालिमको प्रभावकारिताका लागि प्रशिक्षकको प्रशिक्षण सञ्चालन गर्ने र सम्बन्धित उद्यम, व्यवसायका उत्पादनको बजारीकरणका लागि स्थानीय साझेदारसँग सहकार्य तथा मूल्य श्रृंखला विकासका लागि काम गर्ने भएको छ । गत वर्षदेखि उद्यमशीलता तथा सीप विकासका क्षेत्रमा काम गर्दै आएको कर्मभूमि समाजले ३७ जिल्लाबाट १०४६ प्रस्ताव प्राप्त गरेकोमा ११६ परियोजना बैंक तथा वित्तीय संस्थाबाट स्वीकृत भई सहुलियतपूर्ण कर्जा प्राप्त गरिसकेका छन् भने छिट्टै उद्यमशीलता विकास अभियानलाई सबै जिल्लामा विस्तार गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए ।
सिबिफिनले लघु, साना तथा मझौला उद्यममा लगानीसम्बन्धी मेलामार्फत् बैंक तथा वित्तीय संस्था र सम्भाव्य उद्यम सञ्चालन गर्न चाहानेलाई एउटै प्लेटफर्ममा ल्याएर दुई पक्षबीच अन्तरक्रिया गराउने तथा यस्ता परियोजनामा लगानीका लागि बैंक तथा वित्तीय संस्थामा सम्पर्क व्यक्ति तोक्न लगाउने, वित्तीय साक्षरता तथा कार्यक्रमहरू सञ्चालनमा सहकार्य गर्ने र कर्मभूमि समाज समेतको परामर्शमा यस्ता उद्यममा सहजै वित्तीयकरणका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, लगायत नियामक निकायलाई रचनात्मक सुझाव पेश गर्ने उल्लेख छ ।
दुवै संस्थाले यो समझदारीको कार्यान्वयनबाट लघु, साना तथा मझौला उद्यम विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेका छन् । समझदारीपछि सिबिफिनका वरिष्ठ उपाध्यक्ष शाहले देशभर युवा तथा महिला उद्यमीहरुको उत्पादन गरी उत्पादनमूलक, रोजगारमूलक एवं आयात प्रतिस्थापन गर्ने उद्यम तथा व्यवसायहरुको विकास एवं विस्तारमा यो परियोजना राष्ट्रिय महत्वको परियोजना भएको बताए ।