दूधकोसी नदीमा झोलुंगे पुल बन्दै

खोटाङ र ओखलढुगाको सिमाना दूधकोसी नदीमा झोलुंगे पुल बन्ने भएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा जोड्ने झोलुंगे पुल निर्माण हुने भएको हो । पुलको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
सल्लेको टिम्मुरे र तलुवाको पिप्लेलाई जोड्ने झोलुंगे पुल आगामी असारमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको छ । १ सय ९ मिटर लम्बाइ रहने पुल हलेसी तुवाचुङ नगरपालिकाको एक करोड ४० लाख बजेटमा निर्माण हुन लागेको सल्लेका वडा सचिव चित्रबहादुर रानाले जानकारी दिए ।
हाल उक्त क्षेत्रका नागरिकलाई वारिपारि गर्न महादेवबेंसी पुग्नुपर्ने बाध्यता छ । झोलुंगे पुल निर्माणपछि ओखलढुंगाको नाल्सु र खोटाङको टिम्मुरेका नागरिकलाई सहज हुने सल्लेका वडा सदस्य गणेश पौडेलले बताए ।