Logo

प्रा. महेन्द्रको ‘ओ दार्जीलिङ’का कोलाज

वर्तमान नेपाली राजनीतिले यस्ता कैयौं दुर्दशा भोगेको कसैबाट छिपेको छैन । एउटा असल राष्ट्र बन्नका निम्ति सरकारमा बस्नेहरूले सुशासनको पथलाई प्रशस्तै पार्नुपर्छ ।

राष्ट्र भनेको एउटा सिङ्गो भूगोल मात्र होइन, न हो विश्व मानचित्रमा कोरिएको फगत आकार । सार्वभौमसत्तासम्पन्न त्यो भूगोलभित्र अटाएका मान्छेहरूको जमात पनि होइन राष्ट्र । राजनीतिक संरचना, कर्मचारीतन्त्र, सचिवालय र मन्त्रालय एवं विभागहरूले मात्र पनि राष्ट्र कोरिँदैन । त्यहाँ चाहिन्छ देश निर्माणमा निःस्वार्थ समर्पित जननेताहरू, कल्याणकारी समाजको एउटा सुन्दर परिकल्पना, सर्वमान्य संविधान र संविधानप्रति आस्था र निष्ठा बोकेका इमानदार एवं सदाचार राष्ट्रसेवकहरू । आफ्नो देशको गौरवमय इतिहासमाथि गर्व गर्ने विशाल जन–समुदाय, लोकहितका लागि स्थापित विभिन्न संस्थाहरू, गाउँ–गाउँमा विद्यालय र स्वास्थ्य संस्थाहरू, उच्च शिक्षा एवं अनुसन्धानका लागि निर्मित प्रतिष्ठानहरू, आधारभूत पूर्वाधारहरू, गरिब–दुःखीका बासस्थानहरू, नदीनाला, पहाड–तराई, जैविक विविधता तथा सुरक्षित पर्यावरण, उद्यमी, व्यापारी, स्वाबलम्बी, कर्मठ र देशभक्त युवायुवतीहरू, अन्धविश्वास, विकृति र विसंगतिरहित समाज । भ्रष्टाचार र सहयोगी हातहरूको सम्मिश्रणले एउटा शिष्ट, सभ्य र सुसंस्कृत राष्ट्रको निर्माणमा बल पु-याइरहेको हुन्छ । राजनीतिमा संलग्नहरूले स्वयंलाई समाजसेवीका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ, न कि स्वेच्छाचारी, दुराचारी, भ्रष्टाचारी, दुईजिब्रे, स्वार्थमा लिप्त, दलबदल र नेताहरूका आँखामा पट्टी बाँध्नेहरू । भोट र नोटको राजनीति गर्नेहरू कालान्तरमा जनताको हृदयबाट तिरस्कृत बन्न पुगी न घरका न घाटका अवस्थामा पुग्नेछन् । वर्तमान नेपाली राजनीतिले यस्ता कैयौं दुर्दशा भोगेको कसैबाट छिपेको छैन ।
एउटा असल राष्ट्र बन्नका निम्ति सरकारमा बस्नेहरूले सुशासनको पथलाई प्रशस्तै पार्नुपर्छ । राजनीति र कूटनीतिको अन्योन्याश्रित सम्बन्धलाई राम्ररी बुझेको हुनुपर्छ । स्पष्ट शब्दमा भन्नुपर्दा कुनै पनि राष्ट्रसेवकले स्वयंलाई घुसखोरी, कमिसनतन्त्र र अर्काको दबाबमा काम गर्ने प्रवृत्तिबाट अछुतो राख्न नितान्त जरुरी छ । आफ्नो गाउँ आफैं बनाऊँ, समृद्ध नेपाल सुखी नेपालीजस्ता भ्रामक नाराहरूको सिर्जना गरेर जनस्तरमा काम गर्नेहरूलाई विचलित पार्नु ठूलो अपराध हो । सरकारको संयन्त्रले गर्नुपर्ने काम जनताका काँधमा थोपरिदिएपछिको अवस्था के हुन्छ, अनुमान लगाउन सकिन्छ । आफ्नो गाउँ आफैँ बनाऊँले के उपलब्धि हासिल ग¥यो त ? पर्यावरणको सर्वनाश, भू–क्षय, असामयिक बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोप निम्त्याउनुबाहेक समृद्ध नेपाल सुखी नेपाली भन्दाभन्दै हामी नेपालीहरू गरीबीको भड्खालमा जाकिँदै गइरहेका छौं । रेल किनिसकेपछि चलाउने मान्छे तयार पार्नु पर्दैनथ्यो त ? तस्कर र कालोबजारी गर्ने, जनतालाई पिर्ने र सुन्दर शान्त विशालको परिकल्पनालाई पन्छाएर धनराशि बटुल्ने जमातमा देशवासीले आशा पोख्ने ठाउँ कहाँ नै रह्यो र ? आफ्नै अधिपत्यमा रहेका भूभागहरूमा अरूको रजाइँ छ । यिनका विरोधमा जनमत खडा हुन नपाउँदै अधिवेशन र महाअधिवेशनका नाममा नोट र भोटको खेल सुरु भयो र जनमत फेरि पाखा लाग्न बाध्य भयो । तर, स्वनामधन्य नेतागण हो ! यो त एउटा छोटो पटाक्षेप मात्र हो । गत निर्वाचनताका तिमीले जारी गरेका घोषणापत्रमा अन्तर्निहित मुद्दाहरूलाई नै एकचोटि पुनरावलोकन गरी आत्म–आलोचना गर, तिमीले कति काम ग¥यौ भनेर कोभिड–१९ को त्रासले अहिले जनता घरघरमा छन् । अब त्यो समय टाढा नहोला, जब आमनेपाली पुनः सडकमा उत्रनुपर्ने बाध्यता बलियो हँुदै जानेछ । ऋण लिएर मुलुकको कुल गार्हस्थ उत्पादन बढाउने सरकारको आयु कति नै होला र ? ऋण र वैदेशिक सहयोगले थामेको अर्थतन्त्र चलाउने निर्लज्ज सरकारले अझ कति दिन आफ्नो सत्ता र शासन बागडोर सँभाल्ने हो, हेर्दै जाऔँ । पाँच महिनाभित्रै ७.११ प्रतिशतले बढेको महँगीको मार सहेर बसेका देशभक्त नेपालीहरूले के यसरी नै मौन रहेर जे परिआउँछ सो सहँदै जाउँला भन्ने कुरालाई अंगीकार गरिरहने होलान् त ? देशमा उद्योगधन्दा, व्यवसाय छैन, रोजगारी छैन, उपभोग्य र विलासिताका वस्तुहरूको आयात भदौको भेलझैं छ । सिस्टमबिना नै देश चलिरहेछ— नेरो रूपी सरकार बाँसुरी बजाइरहेछ ।
दुःखको कुरा त के भने देशमा रहेका चिन्तनशील विद्वान् विदुषी, सञ्चार–जगत्, राजनीतिक धारमा बाँडिएका सचेत विद्यार्थीहरू— सबै मौन छन् । आक्रान्त छन्, किंकर्तव्यविमूढ छन् । फेरि उही पुराना सुनौला दिनहरू आउनेछन् भन्ने विश्वास बोकेर । विश्व महामारीले थिचोमिचो पारेको मानव समाजले पुनर्जागरण पर्खिरहेका बेला दुष्टहरूलाई नै जनताका लागि मह काढ्दै आफ्नै हात चाट्दै गरेको हेरिरहनुपरेको छ ।
वरिष्ठ विद्वान् प्राध्यापक महेन्द्र लामाको ‘ओ दार्जीलिङ’ पढेपछि मेरा मन–मस्तिष्कमा टाँसिन पुगेका केही कोलाजहरू हुन् यस स्तम्भमा मैले कोरेका विषयहरू । काठमाडौंको कुकलले घर–घरै मेलम्चीको पानी पु¥याउने अभियानअन्तर्गत घरदैलोअगाडिका बाटाहरू खनेर लथालिङ्ग पारिदिएको छ । कहीं–कहीं पुराना जीआई पाइपहरू फुटेर, भाँचिएर बाटाहरू हिलाम्मे र धुलाम्मे भइसकेका छन् । कुकलको एक जना अधिकृतलाई मैले सोधें– ‘तपाईंले ओछ्याएका पाइपबाट कहिलेसम्म आउला पानी धारामा ?’ उहाँले निःसंकोच भन्नुभयो– ‘कम्तीमा पाँच वर्ष त लागिहाल्ला नि ? त्यसको लगत्तै भूमिगत विद्युतीय तार ओछ्याउने क्रममा नेपाल विद्युत् प्राधिकरणले पुनः उत्खनन थाल्यो, अर्कोपट्टिबाट सहजै अनुमान लगाउन सकिन्छ— भएको पूर्वाधार नासेर सरकारले मुलुकलाई कति सुन्दर र आत्मनिर्भर बनाउन खोजेको हो । आम उपभोक्ताहरूको सुविधाका निम्ति काम गरिएको हो भने हाम्रा भत्काइएका सडकहरूलाई पुरानै अवस्थामा मिलाएर राखिदिनुपर्छ कि पर्दैन ? यस्ता ससाना कामका लागि त अहिले स्थानीय सरकार पनि छ । फेरि काम किन ढिलो ? चुनाव त फेरि आउँदै छ— पानीमाथिको ओभानो बनेर बस्ने प्रयास नगर ! स्थानीय सरकारले जनस्तरमा काम गर्दा मात्र बजेट सक्ने होइन ।
सुनियोजित ढंगले काम गर्नुपर्छ । संघीय लोकतान्त्रिक परिपाटीमा स्थानीय सरकारको कर्म–निष्ठताले देशको भावी सरकारको संरचनालाई मार्गदर्शन गर्छ । अहिले बिदेसिएर फर्केका सयौँ युवाले स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाबाट उत्प्रेरित भई गाईवस्तु पालन, कृषि फर्म, फलफूल उत्पादन आदिमा स्वयंलाई सक्रिय रूपमा संलग्न गराइराखेको स्थिति छ । उनीहरूले मनग्य कमाइ पनि गरिरहेकोे हामी समाचार पढ्छौं । यस्ता युवाहरूबारे तथ्य संकलन गरी सरकारले एउटा इन्भेन्ट्री तयार पारोस् र उत्पादकत्व बढाउनका लागि अन्य लाखौँ युवाहरूलाई स्वरोजगारीमा लाग्न हौसला प्रदान गरोस् । यसो गर्दा सानै मात्रामा भए पनि युवाहरू इलमी बन्न पुग्छन् र अन्य अनेक रोजगारीहरूको पनि अवसर खुल्छ । उत्पादन र उत्पादकत्वमा जोड दिने अहिलेको हाम्रो अर्थमन्त्रालयले यसतर्फ विशेष गम्भीरतापूर्वक ध्यान पु-याउनु जरुरी छ । हाम्रा युवायुवतीहरूमा स्वावलम्बनको भावना तरंगित पार्नुपर्छ । यसले सदाचारको विकास भई उनीहरूलाई चरित्रवान्, देशभक्त, शिष्ट र सुसंस्कृत बन्नुमा मद्दत पु¥याउनुका साथै राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुग्नेछ । यो लघु उद्यमको एउटा सिद्धान्त पनि हो । वैदेशिक रोजगारीमा पठाउनु भनेको धेरै कोणबाट राष्ट्रका निम्ति घातक पनि हुन सक्छ ।
भर्खरै देखियो नै, रेमिट्यान्सले पनि अब अवैध बाटो पहिल्याइसकेको छ । विदेश जाने युवाहरूले छोटो समयमै आफ्नो रगत पसिना बगाएर केही रकम त आर्जन गर्लान् । केही समयका लागि उनका घरपरिवारमा रहेकाहरूको अनुहार पनि चहकिलो होला । तर, यसबाट उत्पन्न हुने दूरगामी प्रतिफलहरू नकारात्मक मात्र हुन गई विदेश जाने ती युवाहरू आजीवन कुण्ठित बन्न पुगी उनीहरूमा नकारात्मक प्रवृत्तिले स्थायी बास पाउने हुन्छ । सेतो जागिरमा जानेहरूको अपवादमा अन्य औंठाछाप युुवाहरूको मजदुरी ग्यारेन्टेड नरहेको हामी पाउँछौं । प्रत्येक दिन औसत पाँचदेखि सातवटा लास भरिएका कफिन खाडी मुलुकबाट हाम्रो विमानस्थलमा आउँछन् । कतिले आत्महत्या गर्छन्, कति कष्ट र कुण्ठाको खाडलमा उकुसमुकुस हुँदै फेरि कहिल्यै नफर्कने अठोटका साथ आफ्नै जन्मभूमिमा केही न केही उत्पादनमूलक काम गर्छु भन्दै फर्कन्छन् । यस्तो वास्तविकताबाट सरकारले आफू अनभिज्ञ भएको नाटक मञ्चन गर्दै नेपाली युवाहरूका लागि जागिरको सम्झौता भयो भनेर बडो गर्वसाथ राष्ट्रिय समाचारमा प्रचार–प्रसार गर्छ । कस्तो लाजमर्दो ! युवाहरू नै भोलिका राष्ट्रनिर्माता हुन्, उनीहरूको भविष्यमाथि सरकारको यस्तो निकृष्ट दृष्टिकोणलाई के संज्ञा दिनुपर्ला, यसको जवाफ पाठकवर्गबाटै आओस् !

प्रतिक्रिया दिनुहोस्