ओमिक्रोनको त्रास : विश्व अर्थतन्त्रको सकस «

ओमिक्रोनको त्रास : विश्व अर्थतन्त्रको सकस

कोरोनाको नयाँ लहर ‘ओमिक्रोन’ विश्वकै साझा समस्या हो । विश्वका सम्पन्न देशहरू यसका विरुद्ध एक ठाउँमा उभिन जरुरी छ ।

विभिन्न भेरियन्टले थलिएर तङ्ग्रींदै गरेको विश्व अर्थतन्त्र पुनः नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमणबाट त्रसित छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टलाई विश्वका लागि नयाँ चुनौतीका रूपमा घोषणा गरेपछि त्यसको नकारात्मक असर विश्व अर्थतन्त्रका विभिन्न सूचकहरूमा देखा पर्न थालेको छ । विश्व अर्थतन्त्रसहित विश्वका मानवजातिलाई यो ओमिक्रोन भेरियन्टले पार्ने असर अध्ययन–अनुसन्धानमा वैज्ञानिक तथा चिकित्सा क्षेत्रका मानिसहरू लागिरहेका छन् । विश्वले भोगिरहेका कोभिड–१९ को महामारीका कारण बहुआयामिक क्षेत्रमा पारेको असरलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले सन् १९३० को विश्व आर्थिक मन्दी (ग्रेड डिप्रेसन) पछिको सबैभन्दा खराब अवस्थाको रूपमा चित्रण गरेको थियो ।
विश्वका धेरै मुलुकहरूमा अहिले नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा संक्रमण तीव्र भएको देखिन्छ । यो भेरियन्ट डेल्टाभन्दा कम जोखिमयुक्त भए पनि धेरै संक्रामक देखिएको छ । जनजीवन सामान्य लागेको अवस्थामा नयाँ संक्रमण फैलनु निराशाको विषय हो । दक्षिण अफ्रिकाबाट सुरु भएर विश्वका धेरै राष्ट्रमा पुगेको ओमिक्रोनले नेपाललाई समेत अछुतो राख्न सकेन । फ्रान्सको युनिभर्सिटी हस्पिटल इन्स्टिच्युटको अध्ययन टोलीले भेरियन्ट पत्ता लगाएको हो । एसिया महाद्वीपमै भारतमा दैनिक संक्रमितको संख्या तीव्र वृद्धि भएको छ । भारत सबैभन्दा बढी संक्रमित हुने अमेरिकापछि दोस्रो देश हो । धेरै युरोपेली देशले ओमिक्रोनका कारण संक्रमण वृद्धि देखेपछि खोप बुस्टर डोज अभियान बढाएका छन् । ओमिक्रोनको सुनामीले अमेरिकी जीवनका हरेक पक्षलाई असर पारेको छ । अमेरिरकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले कोरोना तीव्र गतिमा फैलिएमा ९५ प्रतिशत ओमिक्रोन जिम्मेवार रहेको अनुमान गरेको छ ।
विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा विश्व अर्थतन्त्र ५.६ प्रतिशत बढ्ने अनुमान गरेको थियो । तर, पछिल्लो समयमा देखिएको ‘ओमिक्रोन भेरियन्ट’ को त्रास र अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको खोप कार्यक्रमले फेरि आर्थिक परिसूचकहरू घट्दो क्रममा देखिएका छन् । विश्वको जीडीपीलाई खुम्च्याउँदै जानेछ । युरोप अमेरिकाको पुँजीबजार लयमा फर्किए पनि एसिया–प्रशान्त क्षेत्रमा असर खस्कँदो अर्थतन्त्रले सिर्जना गरिरहेको छ । विश्व बैंकले जुन २०२१ मा ग्लोबल इकोनोमिक प्रतिवेदन सार्वजनिक गर्दै विश्वको जीडीपी वृद्धिदर यस वर्ष ५.६ प्रतिशत हुने तर ओमिक्रोनको उदयले सन् २०२२ मा ४.५ र २०२३ मा ३.२ प्रतिशतमा खुम्चने अनुमान गरेको छ । ओमिक्रोनको त्रासले पुँजीबजार र पेट्रोलियमको मूल्यमा गिरावट तथा उपभोग्य सामग्रीमा बढ्दो महँगी विश्वव्यापी रूपमा देखिन थालिसकेको छ ।
कोरोना भाइरस पछिको अर्थतन्त्र पुनरुत्थानका लागि ‘भ्याक्सिन इकोनोमी’ लाई महत्वपूर्ण कडी मानिँदै आएको थियो । तर, ओमिक्रोन भेरियन्टका लागि भ्याक्सिन पनि न्यून प्रभावकारी हुने विश्व स्वास्थ्य संगठनको चेतावनीपछि त्यसको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ । डलर, पेट्रोलियम पदार्थ, सेयर बजार र सुनमा बढ्दो उतार–चढाव देखिन थालेको छ । फाइनान्स डट याहुका अनुसार महामारीको त्रासका बीच लगानीकर्ताले सुन क्षेत्र बढी सुरक्षित देखेर लगानी केन्द्रित गर्न थालेका छन् । उत्पादन क्षेत्रमा लगानीकर्ताको घट्दो आकर्षणले वस्तुको उत्पादन कम हुन गई अत्यधिक मूल्य वृद्धि हुन थालेको छ ।
ओमिक्रोनको त्रासले अहिले विश्वका धेरै देशले कतिपय देशमा हवाई उडान बन्द गरेका छन् भने कतिले कम गरेका छन्, जसको कारण देश–देशबीचको व्यापार कमजोर हुन गएको छ । जसका कारण प्रत्येक देशको अर्थतन्त्रमा ठूलो प्रभाव पर्न गएको छ । अमेरिका, क्यानडा, बेलायत, जापान, हङकङलगायत थुप्रै देशले आवागमनमा पूर्ण प्रतिबद्धतालगायतका छन् । डब्लूएचओका अनुसार डेल्टाभन्दा ओमिक्रोनको संक्रमण दर उच्च छ । फैलावट अनुपात र संक्रमण दरका कारण कतिपय विज्ञले यसलाई ‘आँधीजस्तो लहर’ भनेका छन् । अमेरिका, बेलायत ब्राजिल, फ्रान्स, भारतलगायतका देशमा बढ्दो ओमिक्रोनकै कारण डब्लूएचओले ‘सुनामी’ को संख्या दिएको हो । ती देशमा संक्रमणका ‘कीर्तिमान’ घटना बन्दै गएका छन् । फ्रान्स र जर्मनीले त कडा नियम लागू गर्दै यात्रामा पनि प्रतिबन्ध लगाइसकेका छन् । क्रिसमस र नयाँ वर्षका कतिपय कार्यक्रमहरू पनि ओमिक्रोनको त्रासले धेरै देशमा रोकिएका थिए ।
ओमिक्रोनको उत्कर्ष भारतमा देखिएपछि नयाँ दिल्लीलगायतका ठाउँमा कडाइ सुरु गरिएको छ । भीडभाड नियन्त्रण गर्न दिल्लीमा शिक्षण संस्था बन्द भइसकेका छन् । हाम्रो मुलुकमा पनि ओमिक्रोनको संक्रमण ह्वात्तै बढेको छ । पुस २३ गते मात्रै २४ जनामा ओमिक्रोन संक्रमण देखिएको थियो । योसँगै देशमा २७ जनामा ओमिक्रोन पुष्टि भएको छ । यो संख्या अझ बढ्ने देखिएको छ । यसले गर्दा मानवीय स्वास्थ्यमा मात्र असर नगरी देशकै अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने देखिन्छ । थुप्रै व्यवसायी र लगानीकर्ताबीच डर र त्रास बढेको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार महामारीले विश्वभर ३ करोड ४३ लाख मानिसलाई निरपेक्ष गरिबीमा धकेलिदिएको छ । युनाइटेड नेसन वल्र्ड इकोनोमी सिचुएसन एन्ड प्रस्पेक्ट (यूएनडब्लूइसपी) रिपोर्ट, २०२० ले महामारीका कारण सन् २०२० पछिका दुई वर्षमा मात्र ८५ खर्ब अमेरिकी डलरको क्षति अनुमान गरिएको छ । अबका दिनका यसको क्षति कति हुने हो, सहज अनुमान गर्न गाह्रो छ । ओमिक्रोनका कारण बैंक–वित्तीय संस्थाहरूबाट विश्वमै निक्षेप झिक्ने क्रम बढेको छ, जसले गर्दा विश्वका थुप्रै वित्तीय संस्थाहरूमा संकट उत्पन्न हुने सम्भावना देखिाएको छ ।
अन्त्यमा, कोरोनाको नयाँ लहर ‘ओमिक्रोन’ विश्वकै साझा समस्या हो । विश्वका सम्पन्न देशहरू यसका विरुद्ध एक ठाउँमा उभिन जरुरी छ । साझा समस्याको उपाय खोजी गरिब तथा अल्पविकसित राष्ट्रहरूलाई समेत सहयोग गर्नुपर्ने अपरिहार्य छ । विश्व स्वास्थ्य संगठनले दिएका सुझाव तथा चेतावनीहरूलाई पनि सहजै मनन गरी कार्यान्वयनको दिशामा अघि बढ्नुपर्छ । तबमात्र ‘ओमिक्रोन भेरियन्ट’ लाई पराजित गर्न सकिन्छ ।
(खरेल अर्थ–राजनीतिक विश्लेषक हुन् ।)

प्रतिक्रिया दिनुहोस्