Logo

सहकारीबाट ठगिँदै सर्वसाधारण


आर्थिक सशक्तिकरण ल्याउन, बचत गर्ने बानीको विकास गर्न, छरिएर रहेको पुँजीलाई एकीकृत गरी व्यवसायी क्षेत्रमा लगानी गर्न र महिलालाई आर्थिक रुपमा सक्षम एंवम वित्तीय पहुँचमा पुराउने लक्ष्य लिएर जुम्लामा एक सय भन्दबढी सहकारी सञ्चालन भएका छन् ।
तीमध्ये चन्दननाथ बहुउदेश्यी सहकारी, दियालो बहुउदेश्यीय सहकारी, नौलो बिहानी सहकारीलगायतका सहकारीले वित्तीय क्षेत्रमा उल्लेखीय काम गरिरहेका छन् ।
तर जुम्लामा केही सहकारीबाट बचतकर्ताहरु ठगिएको पाइएको छ । सहकारी सञ्चालकले नै बचत गरेको रकम लिएर सम्पर्क बिहिन भएपछि सहकारीमा आवद्ध सदस्य जुम्ली सर्वसाधारण ठगिएका हुन् ।
जुम्लामा सञ्चालित स्वजन बहुउद्देश्यीय सहकारीले सर्वसाधारणलाई ठगेको पाइएको छ । सञ्चाललक नै बचत गरेको लाखौं रकमसहित सम्पर्क बिहिन भएपछि आफूजस्ता सयौ सर्वसाधारण गठिएको र ऋण गरी बचत गरेको पैसा पनि गुमेको स्वजन बहुउद्देश्यीय सहकारीका सदस्य चन्दननाथ १० निवासी प्रेमराज न्यौपानेको गुनासो छ ।
उनले भने, “स्वजन बहुउद्देश्यीय सहकारीमा मैले मात्रै ३० हजार ५ सय रुपैयाँ बचत गरेको थिएँ । महिनौ दिन भइसक्यो बचत संकलन गर्न आउन छोडेको । सहकारी सञ्चालक नै भागेका रहेछन् । तलब नपाएपछि बचत संकलनले कामै छोडेको भेटियो ।”
न्यौपाने जस्तै चन्दननाथ ६ की हरिदेवी बुढाले पनि आफू स्वजन बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएको दुखेसो गरिन् । सञ्चालक जहाँ भएपनि आफ्नो बचतको सबै रकम पाउनु पर्ने उनको माग छ । स्वजन बहुउद्देश्यीय सहकारी संस्था जुम्लामा सञ्चालन भएको ३ वर्ष भएको छ । सहकारीमा झण्डै ५ सय व्यक्तिले बचत गरेका थिए । जुन बचत रकमसहित सहकारी सञ्चालक फरार छन् ।
त्यस्तै जुम्लाको बसपार्कमा सञ्चालित अर्को सहकारीले पनि ग्राहकबाट संकलन गरेको बचत रकमसहित सम्पर्क बिहिन भएको छ । करिब ४ सय बचतकर्ता भएको उक्त सहकारीका सञ्चालक रकम सहित सम्पर्कबिहिन छन् । स्वजन र समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीमा आबद्ध बचत कर्ताले ठगिएको भन्दै रकम फिर्ता गरिदिन हारगुहार गरेका छन् ।
चन्दननाथ–६ की एकुमाया खत्रीले समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीले विहान बेलुका नखाइ बचत गरेको रकमनै लुटेर लिएको बताइन् । उनले भनिन्, “यो सहकारीमा मेरो १५ हजार ३ सय रुपैयाँ रकम छ । यो सहकारीमा न्यूनतम ५ हजारदेखि अधिकतम ३ लाखभन्दा बढी बचत गरेका व्यक्ति छन् । हाम्रो रकम फिर्ता हुनुपर्छ ।”
समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रकाश रोकायासहित अन्य पदाधिकारी गत असोज १२ गतेदेखि सम्पर्कबिहीन भएका छन् । हाल सहकारीको कार्यालयमा ताला लगाइएको छ ।
यता समाज रूपान्तरण सहकारीका अध्यक्ष प्रकाश रोकायाले आफू काम विशेषले काठमाडौैं आउँदा कार्यालय बन्द भएको बताए । उनले भने, “बचतकर्ताको ६ देखि ७ लाखसम्म रुपैयाँ फिर्ता गर्नुपर्ने छ । म तत्काल आएर सबैको बचत फिर्ता गर्छु । सहकारीले १२ लाख जति ऋण लगानी गरेको छ । ऋण असुल गरेर आगामी फाुगनसम्म नागरिकको सबै बचत फिर्ता गर्ने तयारी छ ।”
त्यस्तै समाज रूपान्तरण सहकारीले बचतकर्ताको रकम फिर्ता दिने आश्वासन दिएको छ । यद्दपी हाल सहकारी पदाधिकारी सम्पर्कमा नभएको बचतकर्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्