Logo

सोलुखुम्बुको दूधकोसी मोटरेबल पुल सञ्चालनमा


सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ ।
सोलुखुम्बु जिल्लाको माप्य दूधकोसी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको बीचमा रहेको दूधकोसी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयले बताएका छन् । सगरमाथा खुम्बु जोड्ने ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि घुम्न आउने पर्यटकका लागि राम्रो भएको स्थानीयको भनाइ छ । सोलुखुम्बु जिल्ला प्रदेश नम्बर एकको ख तर्फका प्रदेश सांसद बद्रीकुमार राजभण्डारीले पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै खुम्बु क्षेत्रका स्थानीयले उपभोग गर्ने वस्तुको मूल्यमा कमी आएको बताए । सांसद भण्डारीले मोटरेबल पुल बनेपछि खुम्बुमा एक सिलिण्डर खाना पकाउने ग्याँसको मूल्य २३ सयबाट घटेर १९ सयमा आएको बताए । उनले एक क्रेरेट अण्डाको मूल्य सात सय पर्ने ठाउँमा तीन सयमा पाउने अवस्था आएको बताए । मोटरेबल पुल निर्माण भएसँगै खुम्बु क्षेत्रका स्थानीय जनताले दैनिक उपभोग्य वस्तुदेखि लिएर लत्ता कपडासमेत सस्तो भएको भन्दै हवाई उडान प्रभावित भएर लुक्ला विमानस्थलमा भीड गरेर बस्नु पर्ने पर्यटकको बाध्यताको अन्त्य भएका उनको भनाइ छ । उनले कोरोना महामारीका कारण घटेको पर्यटक पुल निर्माण भएसँगै वृद्धि भएको बताए ।
त्यस्तै खुम्बु गाउँपालिकाका स्थानीय बासिन्दाले पनि पुल निर्माण भएर मोटरबाटो सञ्चालनमा आएकोमा खुसी छन् । खुम्बुका स्थानीय गौरव राईले पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकका लागि राम्रो भएको बताए । उनले सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले कतै आवतजावतका लागि हवाइ उडानमार्फत गर्नुपर्ने अवस्था रहेको तर गरिब जनताको पहँुच नपुग्नेका लागि सडक पुल निर्माणले महत्वपूर्ण योगदान गरेको बताए ।
राईले भने, “पुल निर्माणले खुम्बुका स्थानीयबासीलाई मात्रै नभएर विश्वबाट सगरमाथा आउने पर्यटकका लागि राम्रो भएको छ । सोलुखुम्बु हिमाली जिल्ला भएको र मौसम परिर्वतन भइरहने भएकाले कतै आवत जावतका लागि हवाइ उडानमार्फत गर्नु अवस्था रहेको तर गरिब जनताको पहँुच नपुग्नेका लागि सडक पुल निर्माणले महत्वपूर्ण योगदान गरेको छ । पुल निर्माणले पर्यटन क्षेत्रको विकास तथा स्थानीयबासीलाई व्यवसायी बनाउन सहयोग गर्नेछ ।”
खुम्बुमा सडक सञ्चालन नहुँदा यस क्षेत्रको अवस्था एकदमै कठिन रहेको तर पुल निर्माण भएर सञ्चालनमा आएसँगै खुम्बुमा उत्पादन भएका कृषिजन्य वस्तु अन्य स्थानमा लगेर बेच्न सक्ने अवस्था आएको स्थानीयबासीन्दाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्