गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो «

गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो


गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको न्यूनतम ५.५५ प्रतिशतदेखि २८ प्रतिशतसम्म भाडा समायोजन गरेको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले सार्वजनिक गरेका हुन् ।
संघीय सरकारले सार्वजनिक सवारी साधनको भाडा दरमा समायोजन गरेकाले सोही अनुरुप प्रदेश सरकारले पनि भाडा समायोजन गरेको उनले बताए । लामो दूरीका यात्रुबाहक बसको हकमा २३.५१ प्रतिशत, नगर बसको हकमा २२.५५ प्रतिशत, ट्रकको हकमा १४.ं५७ प्रतिशत, जिपको हकमा ५.५० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय भएको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री समेत रहेका खड्काले बताए ।
गण्डकी प्रदेशमा ट्याक्सिको समेत भाडा समायोजना भएको छ । १५ किलोमिटर भित्रमा लागु हुने गरी ट्याक्सी चढ्ने वित्तिकै ८० रुपैयाँ र त्यसपछि प्रतिदुई सय मिटरमा १० रुपैयाँका दरले मूल्य निर्धारण गरिएको मन्त्री खड्काले जानकारी दिए ।
प्रदेशको यातायात क्षेत्रलाई चुस्त दुरुस्त पार्न केही नियमहरु समेत लागु गर्ने भएको उनले बताए । ट्याक्सीमा जिपिएससहित मिटर जडान गर्ने, चालकले निश्चित पोसाक लगाउनुपर्ने, चालकले आफ्नो परिचयपत्र सेवाग्राहीले देखिने गरी राख्ने र भिजिटिङ कार्डको समेत व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री खड्काले जनाए । यात्रुबाहक बसमा समेत जिपिएस जडानसहित निश्चित ठाउँमा मात्र रोक्ने व्यवस्था गर्ने तथा कार्डबाट भाडा तिर्ने व्यवस्था गर्ने तयारी गरिएको बताए । संघीय सरकारले सार्वजनिक भाडा दरमा २८ प्रतिशत भाडा वृद्धि गरेकाले भाडा समायोजना गर्नुपर्ने भएकाले भौतिक पूर्वाधार मन्त्रालयका सचिवको संयोजकत्वको समितिको दिएको सिफारिसका आधामा उक्त निर्णय गरिएको मन्त्री खड्काले जनाए ।
यसैबीच प्रदेश सरकारसँग करिब तीन महिनाको छलफल पश्चात भाडा समायोजन भएको नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक भानुभक्त बरालले बताए । पेट्रोलियम पदार्थको मूल्य वृद्धि, टायर, पाटपूर्जा, व्यवस्थापन लगायतका १३ वटा सूचकको आधारमा भाडा समायोजन भएको उनले बताए ।
गण्डकी प्रदेशमा रहेका करिब २ लाख ८० हजार सवारी साधनमध्ये २८ हजार मात्र सार्वजनिक सवारी साधन रहेको संयोजक बरालले बताए । प्रदेशमा करिब २ हजार ४ सय ट्याक्सी भएको उनले जनाए । प्रदेश सरकारले भाडा समायोजन गरेर व्यवसायी र सेवाग्राहीका लागि उचित निर्णय गरेको संयोजक बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्