Logo

निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट विनियोजन


प्रदेश सभा सदस्यहरुले विनियोजन गर्ने निर्वाचनक्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत लमजुङका दुवै निर्वाचन क्षेत्रको योजना छनौट र बजेट विनियोजन भएको छ । निर्धारित समय भन्दा झण्डै दुई महिना ढिलाई गरेर बजेट विनियोजन भएको हो ।
गण्डकी प्रदेश सभा सदस्यहरुले मंसिर महिनाको पहिलो साताभित्रै योजना छनौट गरी बजेट विनियोजन गर्नुपर्नेमा माघ लागेपछि मात्रै छनौट भएका योजना तथा बजेट सार्वजनिक भएको हो । जिल्लाबाट गण्डकी प्रदेश सभामा प्रतिनिधत्व गर्ने दुवै जना सांसद नेकपा एमाले तर्फको रहेका र पार्टीको महाधिवेशन, जिल्ला अधिवेशनलगायतका गतिविधिले योजना छनौटमा ढिलाई भएको हो । सीमित बजेट र योजना धेरै भएकाले बजेट विनियोजन गर्न ढिलाई भएको प्रदेश सभा सदस्य एवं निर्वाचन क्षेत्र ‘क’ का सांसद धनञ्जय दवाडीले बताए ।
प्रदेश सभा ‘क’ का लागि प्रदेश सभा सदस्य दवाडीको अध्यक्षतामा समानुपातिक सांसदसहितको समितिको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको दुई करोड रुपैयाँ विनियोजन गरेको हो ।
क्षेत्र ‘क’ अन्र्तगत पर्ने पाँच स्थानीय तहका लागि बजेट विनियोजन भएको छ । निर्वाचन क्षेत्र ‘क’ अन्र्तगत सबैभन्दा धेरै बजेट दूधपोखरी गाउँपालिकामा परेको छ । दूधपोखरी गाउँपालिकाको १० वटा योजनाका लागि ५७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
यसैगरी मस्र्याङ्दी गाउँपालिकाअन्र्तगत सात वटा योजनाका लागि ४७ लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै राइनास नगरपालिकामा पाँच योजनाका लागि पनि ३६ लाख रुपैयाँ विनियोजन भएको छ ।
निर्वाचन क्षेत्र ‘क’ अन्र्तगत बेसीशहर नगरपालिकामा पर्ने दुई वटा वडाअन्तर्गत दुई योजनाका लागि १६ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसैगरी दोर्दी गाउँपालिकाअन्तर्गत पाँच वटा योजनाका लागि २७ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ ।
निर्वाचन क्षेत्रको २ करोडमध्ये विभिन्न विद्यालयका लागि कम्प्युटर खरिद गर्न १७ लाख रुपैयाँ विनियोजन भएको छ । समिति संयोजक दवाडीको अध्यक्षतामा समानुपातिकतर्फका सांसदद्वय मायानाथ अधिकारी र मधु अधिकारीसहितको बैठकले उक्त बजेट विनियोजन गरेको हो ।
प्रदेश सभा सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका पृथ्वीसुब्बा गुरुङले निर्वाचन क्षेत्रअन्तर्गतका चार स्थानीय तहका लागि बजेट विनियोजन गरेका छन् । निर्वाचन क्षेत्र ‘ख’ अन्र्तगत सबैभन्दा धेरै बजेट सुन्दरबजार नगरपालिकालाई परेको छ । सुन्दरबजार नगरपालिकाको नौ वटा योजनाका लागि ५२ लाख बजेट विनियोजन भएको छ ।
यसैगरी क्होलासोँथार गाउँपालिकाअन्र्तगत आठ वटा योजनाका लागि ५१ लाख रुपैयाँ विनियोजन भएको छ । मध्यनेपाल नगरपालिकाका सात वटा योजनाका लागि पनि ५० लाख विनियोजन भएको छ । निर्वाचन क्षेत्र ‘ख’ अन्र्तगत बेसीशहर नगरपालिकामा ६ वटा योजनाका लागि ४७ लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्