Logo

युवालाई नगरपालिकाको बोका उपहार


व्यवसायिक बाख्रापालनलाई उत्प्रेरित गर्ने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिकाले उन्नत जातको बीउ बोका वितरण गरेको छ । पशु विकास र कृषि उत्पादनको पकेट क्षेत्र बनाउने लक्ष्यका साथ बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
शिवसताक्षी– ४ र ५ को विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहलाई नश्ल सुधारका लागि शतप्रतिशत बोयर जातको बीउ बोका प्रदान गरेको छ । समूहका अधिकांश युवा वैदेशिक रोजगारीबाट फर्किएका छन् । समूहमा आवद्ध ३० जना किसानलाई बोका प्रदान गरिएको शिवसताक्षी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । समूहले नगरपालिकामा प्रस्ताव पेश गरेसँगै नगरले बोका उपलब्ध गराएको हो ।
समूहकै सक्रियतामा किसानले चितवनको माडीबाट बोका खरिद गरेको विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहले जनाएको छ । यी बोका ६ महिनाअघि मात्र अफ्रिकाबाट चितवन हुँदै शिवसताक्षी आएको समूहका अध्यक्ष भोला मैनालीले बताए । बोका खरिदका लागि नगरपालिकाले ६ लाख रुपैयाँ खर्च गरेको छ भने समूहले १ लाख ५० हजार खर्च गरेको छ ।
८० प्रतिशत अनुदानमा दिइएको बोकाबाट समूहमा आवद्ध किसानले पालेका बाख्राको नश्ल सुधार हुने र उनीहरूको जीवनस्तर माथि उकास्न टेवा पुग्ने नगरपालिकाले विश्वास गरेको छ । समूहले २० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालन गरेको हो । समूहका सदस्य भानु विमलीका अनुसार समूहले १ लाख ५० हजार लगानी गरेको छ ।
बोका वितरणको लक्ष्य परम्परागत बाख्रापालनलाई क्रमशः व्यवसायिक बनाउँदै लैजानु र उत्पादनलाई बढवा दिई कृषकको आर्थिक अवस्थालाई उकानु रहेको नगरप्रमुख चन्द्रकुमार शेर्माले बताए । “समूहमा विशेष गरी वैदेशिक रोजगारीबाट फर्केका युवाहरु हुनुहुन्छ । उहाँहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले म स्वयम्को सक्रियतामा बोयर बोका वितरण गरिएको हो” प्रमुख शेर्मा भन्छन् । कम लागनीमा राम्रो आयआर्जन गर्न सकिने भएकाले बाख्रापालन व्यवसायलाई नगरले प्राथमिकतामा राखेको नगर प्रमुख शेर्मा बताउँछन् ।
समूहका पदाधिकारीलाई बोका हस्तान्तरण गर्दै नगर प्रमुख शेर्माले भने, “८० प्रतिशत अनुदानमा पाएको बोकाको स्याहारसुसार गरी यसबाट बर्सेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहका कोषाध्यक्ष केदार पौडेलले उन्नत जातको बीऊ बोकाको अभावमा किसानले वर्षौंदेखि परम्परागत शैलीमै बाख्रापालन गर्दै आएको बताए । समूहले सुरु गरेको बाख्रापालन जिल्लाकै नमुना बनाउने प्रतिवद्धता उनले जनाए ।
साविकको पाँचगाछी हालको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ र ५ पशु तथा कृषि क्षेत्रका लागि झापामै पकेट क्षेत्रको रूपमा मानिएको छ । गाई, भैंसी, बाख्रा पालनसहित तरकारी उत्पादनमा पाँचगाछी झापामै अब्बल क्षेत्र मानिएको नगरको कृषि शाखाले जनाएको छ । विश्वडुवा बहुउद्देश्यीय युवा कृषक समूहमा आवद्ध कृषकका कम्तीमा ५ सय विभिन्न जातका बाख्रा छन् ।
समूहभित्र उन्नत जातका बोका नहुँदा नश्ल सुधारका लागि बाख्रा अन्यत्रै बीऊ बोकामा लैजाने किसानले २ हजार ५ सयसम्म तिर्नु परेको स्थानीय किसानले बताएका छन् । नगर र समूहको साझेदारीमा उन्नत जातको बीऊ बोका समूहमै आएपछि समय र पैसाको बचत भएको सविन कृषि फर्मका सञ्चालक सविन अधिकारले बताए । समूहमा आएको बोयर जातको बीऊबाट नश्ल सुधार गर्ने किसानले १ हजार भुक्तानी गर्नुपर्ने नियम समूहले बनाएको छ । समूहमा आवद्ध युवाले समूहका विषयमा जानकारी गराएसँगै नगरप्रमुख शेर्माले उन्नत जातका बाख्राको बीउ उपलब्ध गराउने प्रतिवद्धता गत वर्ष नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्