महाभारतकालीन विराट राजाको दरबारको उत्खनन् जारी
२४ सय वर्ष अगाडिको मन्दिरको संरचना फेला परेको दाबी

विराटनगरको भेडियारीमा जारी विराट राजा दरबार उत्खनन्को क्रममा प्राचीन मन्दिरको भग्नावशेष फेला परेको छ ।
उत्खनन्को क्रममा निस्किएको मन्दिरको अवशेष इशापूर्व दोस्रो शताब्दीको हुनसक्ने आकलन गरिएको छ । विराटनगर महानगरपालिकाको सिमान्त वडा भेडियारीमा रहेको पुरातात्विक महत्वको विराट राजा दरबार क्षेत्रको उत्खनन् जारी छ । महाभारतकालीन युगसँग जोडेर हेर्ने गरिएको यस ठाउँमा पुस २७ गतेबाट उत्खनन् सुरु भएको हो । पुरातत्व विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा आएको टोलीले दरबार क्षेत्रको पुरातात्विक महत्व पत्ता लगाउन उत्खनन् गरिरहेको छ ।
यसअघि विक्रम सम्वत २०२४ सालमा डा. तारानन्द मिश्रको टोलीले यस ठाउँमा उत्खनन् गरेको थियो । तत्कालीन समयमा उत्खनन्को क्रममा फेला परेको भग्नावशेषलाई फेरि पुरिएको थियो । त्यसयता माटोको थुप्रोका रुपमा रहेको ढिस्कोलाई फेरि उत्खनन् गर्न थालिएको हो । उत्खनन्को क्रममा इँट्टाले बनाइएको संरचनाको जग निस्किएको छ । ५० वर्षअघि उत्खनन् गर्दा नै मिश्र नेतृत्वको टोलीले ईशापूर्व दोस्रो शताब्दीको संरचना त्यहाँ रहेको रिपोर्टिङ गरेको थियो ।
पुरातत्व विज्ञहरूको टोलीले यसअघि माटोको थुप्रोका रूपमा देखिएको ढिस्को मध्यभागलाई केन्द्रबिन्दु मानेर विभिन्न चार खण्डमा रेखांकन गरेर उत्खनन् गरिरहेको छ । उत्खनन्मा संलग्न टोलीले संरक्षित क्षेत्रमा भएको जमिनमुनिको ढाँचाको आकार र त्यसको फैलावट पत्ता लगाउने छ भने कार्बन डेटिङ गरेर संरचना निर्माणको समयसमेत पत्ता लगाउने छ । यस्तै टोलीले यसक्षेत्रको सांस्कृतिक इतिहाससमेत अध्ययन गर्ने जनाइएको छ । ढाँचाको उत्खनन् गर्न यतिखेर १७ जना मजदुर खटाइएका छन् । विविध कार्यादेशसहित सरकारले १० लाख रुपैयाँको बजेट छुट्याएको छ । टोलीले ३ सातासम्म यो क्षेत्रमा उत्खनन् तथा अन्वेशषण जारी राख्ने जनाइएको छ । उत्खनन्को क्रममा फेला परेको मन्दिरको भग्नावशेष महाभारतमा उल्लेख गरिएका तत्कालीन राजा विराटको दरबार परिसरमा रहेको मन्दिरको हुनसक्ने संरक्षक कमलकिशोर यादवको भनाइ छ ।
साविकको बुधनगर गाविस र हालको विराटनगर–१८ को उक्त क्षेत्रमा यसअघिदेखि नै पुरातात्विक महत्वका सामग्री फेला पर्ने गरेको यादवले बताए । फेला परेका कतिपय सामान राष्ट्रिय संग्रहालयमा र केही सामग्री आफूसँग सुरक्षित रहेको उनले बताए । यसअघि २०७७ साल चैत ११ गते लंदनको दुराम युनिभर्सिटीका आर्कियोलोजिस्टहरूले यस क्षेत्रको भूभौतिक सर्वे गरेका थिए ।
यसैबीच विराट राजाको दरबार क्षेत्रमा २४ सय वर्ष अगाडिको मन्दिरको संरचना फेला परेको दाबी गरिएको छ । ‘विराट राजा’को दरबार क्षेत्रमा सुरु भएको उत्खनन्का क्रममा सो संरचना फेला परेको हो । उत्खनन्मा पुरातत्व विभागका पुरातत्व अधिकृत ज्ञवालीको नेतृत्वमा पाँच सदस्यीय टोली खटिएको छ । टोलीले यो क्षेत्रमा विराटराजाको दरबार भएको बारे थप अनुसन्धान गर्ने जनाएको छ । भेडियारी पुरातात्विकस्थल ठूलो क्षेत्रफलमा फैलिएर अहिले उत्खनन् भइरहेको स्थलबाट दक्षिण भारततर्फ पनि थप संरचना हुनसक्ने आकलन गरिएको छ । उत्खनन् भइरहेको स्थल २४ सय वर्ष पुरानो आयात आकारको मन्दिरको संरचना भएको हुनसक्ने अनुमान गरिएको छ । मन्दिर भएको स्थलको लम्बाइ, उचाइ, चौडाइलगायत विषय अध्ययन गरिने उनले जानकारी दिए ।