पर्यटकीयस्थल भैरवकुण्ड पदमार्गमा होमस्टे प्रवद्धन

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित यार्मासिङमा पर्यटन प्रवद्र्धन लक्षित गरी आमा समुहले होमस्टेको सुरुवात गरिएको छ ।
भैरवकुण्ड, दुगुनागढीलगायत पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सुविधाका लागि स्थानीय आमा समूहले होमस्टे सञ्चालन गरेका हुन् । पर्यटकीय गाउँ छगाम, बगाम, लिस्तीमाई मन्दिरसमेत यही बाटो हुँदै जाने भएकाले फेरि होमस्टेको सुरुआत गरिएको आमा समूहकी अध्यक्ष पासाङबुटी शेपाले बताइन् ।
“भूकम्पअघि पनि यस्तो सेवा उपलब्ध थियो” उनले भनिन्, “हाल प्रवद्र्धन गरिएको होमस्टे ऐतिहासिक दुगुनागढी नजिकै पर्दछ ।” २०७२ सालको भूकम्पपछि दुगुनागढीको पुनर्निर्माण सकिएकाले यहाँ आउने पर्यटक बढेका छन् । यहाँ गौरीशंकर संरक्षण क्षेत्रले समेत होमस्टे सञ्चालनका लागि पहलकदमी लिएको शेर्पाको ठम्याइ छ ।
जिल्लाको प्रमुख पर्यटकीयस्थल भैरवकुण्ड पदमार्गमा होमस्टेको सुरुवात गरिएको हो । यार्मासिङ गाउँमा करिब २० घरमा होमस्टे सञ्चालन गरिएको छ । हरेक घरमा कम्तिमा दुई वटा कोठा पाहुनाका लागि छुट्टाइएको छ । यहाँ आउने पर्यटकका लागि होमस्टे सञ्चालकले अतिथि सत्कार, जलपान, खानपिन र बस्नको व्यवस्था गर्ने गरेका छन् । पाहुनालाई स्थानीय शेर्पा संस्कृति झल्कने नाचगानसमेत देखाइने गरिएको छ ।
होमस्टे सञ्चालनमा ल्याएपछि दुगुनागढीलगायतका क्षेत्रमा आउन सहज भएको पेमाल्हामू शेर्पाले बताइन् । “सिन्धुपाल्चोककै फुल्पिङकट्टीबाट साथीसंगीसँगै घुम्ने योजनाअनुसार निस्किएका थियौं” उनले भनिन्, “शेर्पा सांस्कृति र परमपरा झल्किने ठाउँ निकै रमणिय रहेछ ।”
नजिकै पर्ने दुगुनागढी पर्यटकको प्रमुख गन्तव्यस्थल हो । देशभरका ऐतिहासिक १० गढीमध्येको भित्र यो गढीलाई मानिन्छ । अग्लो स्थानमा समथर भूभाग र रमणीय डाँडामा रहेका विशाल चट्टानलाई कलात्मकता दिई पहराको खोचमा तत्कालीन प्रधानमन्त्री जंगबहादुरले तिब्बतसँग युद्ध लडेको किवंदन्ती छ । कडा चट्टानलाई आड लिएर नेपाली पक्षले यही गढीबाट तिब्बततिर प्रहार गरेको शिलालेखसमेत छ ।
करिब ४२ सय वर्गमिटरमा फैलिएको गढीमा नेपाल टेलिकमको सिडिएमए टावरदेखि विभिन्न हाउसवायर समेत जडान गरिएको छ । भोटेकोसी गाउ“पालिका ३ मा रहेको करिब एक सय ६० वर्ष परानो पुरातात्विक दुगुनागढी पुनर्निर्माण ध्वस्त भएको ५० महिनापछि पुनर्निर्माण थालिएको हो ।
वि. स. १९१२ मा बिब्बत र नेपालबीच भएको युद्धमा नेपाल पक्षले यही गढीलाई आधारक्षेत्र बनाएर लडाईं लडेका थिए । त्यसताका नेपाली पक्षको सुरक्षार्थ तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अग्लो स्थान रोजेर लडाईंका लागि सहज बनाउन गढीको निर्माण गरेको थियो ।