सर्वोच्च अदालतको सेवामा कटौती «

सर्वोच्च अदालतको सेवामा कटौती

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढेकोे भन्दै सर्वोच्च अदालतले दिँदै आएको सेवा कटौतीे गरेको छ ।
मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिदै आएको सेवाहरुमा कटौतीे गरेको हो । मंगलबार बसेको बैठकले ६ प्रकारका मात्रै सेवा दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । उनले सर्वोच्चको फुलकोर्टको बैठकले अन्य नियमित सेवा दुई हप्ता अर्थात माघ १८ गतेसम्म संकुचन गर्ने निर्णय गरेको जानकारी दिए । प्रवक्ता दाहालले सर्वोच्चका न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जना र देशभरका अदालतमा गरी सय जना भन्दा बढीमा कोरोना संक्रमण देखिएको बताए । उनले सर्वोच्च अदालतले बुधबारबाट बन्दीप्रत्यक्षीकरण तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित सुनुवाइ गर्ने निर्णय भएको बताए । बैठकले मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र निर्णय सुनाउन बाँकि रहेका मुद्दाको सुनुवाइ लगायतका काम मात्र नियमित गर्ने निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालले अदालतमा अनावश्यक भीडभाड हुन नदिन, सेवाग्राहीलाई सुरक्षाको मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न सर्वोच्च प्रशासन र मातहतका अदालतलाई निर्देशन दिएको जानकारी दिए । उनले अदालतका कर्मचारीहरुलाई आलोपालो गरेर काम गर्न लगाउने तथा घरबाट नै काम गर्न सक्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको बताए । उच्च अदालत, जिल्ला अदालत र मातहतका न्यायाधीकरणको हकमा स्थानीय स्थिति अनुसार निर्णय लिन सक्ने गरी सेवा न्यूनीकरण गर्ने विषयमा निर्णय भएको प्रवक्ता दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्