Logo

कोरोनाको कारण यस वर्षको आहा रारा गोल्ड कप दर्शक बिनै सञ्चालन हुने

पोखरा- क्याराभान गोल्ड कपसहितको २१ औं संस्करणको आहा रारा गोल्ड कपको इतिहासमै पहिलो पटक दर्शकबिना आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । पोखराको प्रतिष्ठत संस्था सहारा क्लबको आयोजनामा यही माघ ६ गते बिहीबारदेखि पोखरा रंगशालामा सुरु हुने उक्त प्रतियोगिता विना दर्शक सञ्चालनको तयारी गरिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौं’भन्ने उद्देश्यले यही माघ १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी गरेका बेला तेस्रो लहरको कोरोनाको प्रभाव परेकोले हाल दर्शक विना उक्त प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । आयोजक, प्रायोजक, अपिसियल, खेलाडी तथा सञ्चारकर्मी बाहेक अन्य दर्शक विना नै यसपाली आहा राराको इतिहासमै पहिलो पटक आहा रारा गोल्डकप हुने भएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
यही माघ ६ गते बिहीबार आयोजक सहारा क्लव र विभागिय टोली सशस्त्र प्रहरी वलको एपीएफ क्लव बिच खेल हुने भएको क्लवले जनाएको छ । उक्त प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता हुने भएको अध्यक्ष गुरुङले बताए । प्रतियोगितामा अमेरीकाको विवाईएससी मिनीसोटा, संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्री–स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपीएफ क्लब, मनाङ–मस्र्याङ्दी क्लब र घरेलु टिम सहारा क्लब सहभागी हुने भएको क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन्। गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन थियो । प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी गरी १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिब अधिकारीले जनाए । क्याराभान गोल्ड कप सहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको क्लबले जनाएको छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरू आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस्