कोसी अस्पतालका चिकित्सक सहित ४६ जनामा कोरोना

विराटनगरस्थित कोशी अस्पतालका ८ जना चिकित्सकसहित ४६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
चिकित्सकसहित स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको नियमित स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले आज दिउँसोसम्म ४६ जनामा संक्रमण भएको पुष्टि गरे । जसमध्ये ८ जना चिकित्सक, १७ जना नर्सिङ स्टाफ र अन्य कार्यालय सहयोगी र स्वास्थ्यकर्मी रहेका छन् ।
दासका अनुसार कोसी अस्पतालले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अनिवार्य कोरोना परीक्षण गराइरहेको छ । परीक्षणसँगै संक्रमित हुने संख्या पनि थपिएको हो ।
अझै संक्रमित थपिन सक्ने भएपछि अस्पतालका विभिन्न वार्डहरू कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल र योजना बनाइरहेको उहाँले बताउनुभयो । कोसी अस्पतालमा विभिन्न फाँटमा ६ सयभन्दा धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत छन् ।