राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु

फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरु भएको हो ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाए पनि २८ जना खेलाडी मात्र उपस्थित भएका थिए । फिफा विन्डोमा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमले प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको क्याम्पमा पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा सबै खेलाडी भने उपस्थित हुन सकेनन् ।
फिफा विन्डोमा नेपालले मोरिसससँग दुई वटा मैत्रीपुर्ण खेल खेल्ने भएकोले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो। नेपाल र मोरिसस बीच दशरथ रंगशालामा माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल हुने तालिका रहेको छ ।
काठमाडौँमा नै जारि रहेको ए डिभिजन लिगको नवौ चरण सोमबार सकिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि छानिएका र जारि लिगमा विभिन्न क्लबमा आबद्ध भएर खेलिरहेका खेलाडीहरु पनि बन्द प्रशिक्षणमा पुगेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सहायक प्रशिक्षकका रुपमा संकटा क्लवका मुख्य प्रशिक्षक विष्णु गुरुङलाई बोलाएका छन् । मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि उनलाई अब्दुल्लाहले दोस्रो सहायक प्रशिक्षकका रुपमा टिममा बोलाएका हुन् ।